रास्वपाका नेता पाँडेलाई थप चार दिन हिरासतमा राखिने

काठमाडौं : सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा साइबर ब्यूरोको हिरासतमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडे थप चार दिन हिरासतमा बस्ने भएका छन्।
काठमाडौं जिल्ला अदालतले पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। ब्यूरोले उनलाई आजै सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।
ह्वाट्सपएबाट सन्देश पठाएर चरित्रहत्या गरेको जाहेरीका आधारमा जिल्ला अदालतबाट जारी भएको पक्राउ आदेशको आधारमा पाँडे प्रहरी हिरासत पुगेका थिए। प्रहरीले उनलाई बुधबार हिरासतमै राख्यो।
पाँडेविरुद्ध २० दिन अगाडि नै अदालतबाट पक्राउ आदेश जारी भएको थियो। बुधबार उनी आफैँ ब्यूरोमा उपस्थित भएका थिए।
बुधबारै एमाले केन्द्रीय सदस्य ऐन महर समेत यस्तै घटनामा अनुसन्धनका लागि ब्यूरोमा हाजिर भएपछि सरकारी वकिलको कार्यलयमा लगेर बयान गराइएको थियो।
बयान सकिएपछि महर र उनको श्रीमती हाजिर जमानीमा छुटेका थिए। उस्तै प्रकृतिको जाहेरीमा पाँडेलाई हिरासत महरलाई हाजिर जमानीमा छाड्ने निर्णयको आलोचना भइरहेको छ।
भदौ १२, २०८२ बिहीबार १४:४३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।