रास्वपा नेता अरनिको पाँडेलाई आजै सरकारी वकिलको कार्यालयमा बुझाइने

काठमाडौं : सामाजिक सन्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा साइबर ब्युरोको हिरासतमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई ब्यूरोले आजै सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ।
ह्वाट्सपएबाट सन्देश पठाएर चरित्रहत्या गरेको जाहेरीका आधारमा जिल्ला अदालतबाट जारी भएको पक्राउ आदेशको आधारमा पाँडे प्रहरी हिरासत पुगेका थिए। प्रहरीले उनलाई बुधबार हिरासतमै राख्यो।
उनको बयानको काम सकेर सरकारी वकिलको कार्यालयमा बिहीबार नै बुझाउने तयारी गरेको ब्यूरोका प्रवक्ता दिपक राज अवस्थीले बताए।
‘बयानको काम सक्काएर आजै बुझाउँछौ, बाँकी निर्णय उतैबाट हुन्छ’, अवस्थीले उकेरासँग भने।
अवस्थीका अनुसार पाँडेविरुद्ध २० दिन अगाडि नै अदालतबाट पक्राउ आदेश जारी भएको थियो। बुधबार उनी आफैँ ब्यूरोमा उपस्थित भएका थिए।
उनी उपस्थित भएपछि प्रक्रिया अगाडि बढाउँदा ढिला भएकाले हिरासतमा राखेर बिहीबार नै प्रक्रिया सक्काउने गरि काम भइरहेको दाबी गरे।
बुधबारै एमाले केन्द्रीय सदस्य ऐन महर समेत यस्तै घटनामा अनुसन्धनका लागि ब्यूरोमा हाजिर भएपछि सरकारी वकिलको कार्यलयमा लगेर बयान गराइएको थियो।
बयान सकिएपछि महर र उनको श्रीमती हाजिर जमानीमा छुटेका थिए। उस्तै प्रकृतिको जाहेरीमा पाँडेलाई हिरासत महरलाई हाजिर जमानीमा छाड्ने निर्णयको आलोचना भइरहेको छ।
भदौ १२, २०८२ बिहीबार १२:५२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।