रुपन्देही-३ मा उपनिर्वाचनको सरगर्मी : टिकटका लागि आकांक्षीहरूको दौडधुप, दलहरू अन्तिम तयारीमा

रुपन्देही-३ मा उपनिर्वाचनको सरगर्मी : टिकटका लागि आकांक्षीहरूको दौडधुप, दलहरू अन्तिम तयारीमा

बुटवल : आगामी कार्तिक १६ गतेका लागि तय भएको रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेका छन्।

एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), माओवादी केन्द्र लगायतका प्रमुख दलहरूले उम्मेदवार चयनका लागि आन्तरिक छलफललाई तीव्रता दिएका छन्।

यो उपनिर्वाचनलाई धेरै राजनीतिक दलहरूले दुई वर्षपछि हुने आम निर्वाचनको पूर्वाभ्यासका रूपमा लिएका छन्। सत्तारुढ दल एमाले र कांग्रेसले यस क्षेत्रमा छुट्टाछुट्टै उम्मेदवार उठाउने तयारी गरिरहेका छन्।

एमालेमा खिमलालको पल्ला भारी
एमालेबाट उम्मेदवारका लागि खिमलाल भट्टराई, शशी पौडेल, हरिप्रसाद अधिकारी र यज्ञजित शाहको नाम सिफारिस गरिएको छ। यीमध्ये खिमलाल भट्टराई मुख्य दाबेदार मानिएका छन्। आफ्नो उम्मेदवारी सुनिश्चित गर्न उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटसमेत गरिसकेका छन्।

राष्ट्रिय सभा सदस्य रहेकै बेला रुपन्देही-५ बाट उम्मेदवार बन्न राजीनामा दिएका, तर टिकट नपाएका भट्टराईले यसपटक टिकट पाउने सम्भावना बलियो छ। सिफारिस भएकामध्ये भट्टराईको पक्षमा स्थानीय जनता र कार्यकर्ता पनि सकारात्मक रहेकाले उनलाई बलियो उम्मेदवारको रूपमा हेरिएको हो।

जिल्ला कमिटीको बैठकमा चारजना आकांक्षीले इच्छा देखाएपछि कमिटीले उम्मेदवारको नाम टुंगो लगाउने जिम्मा जिल्ला पदाधिकारीलाई दिएको छ। जिल्ला कमिटीले भदौ १५ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी प्रदेश र केन्द्रमा पठाउनेछ।

कांग्रेसमा खाणको मुद्दा बाधक
नेपाली कांग्रेसबाट भने पूर्वगृहमन्त्री बालकृष्ण खाण बलिया उम्मेदवार हुन्। यद्यपि, नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको मुद्दा विचाराधीन अवस्थामा छ

भदौ ११ गतेको पेसीपछि मात्रै कांग्रेसले उम्मेदवारबारे औपचारिक छलफल अघि बढाउने देखिन्छ। खाणबाहेक कांग्रेसबाट रामचन्द्र ढकाल, सुशील गुरुङ, प्रमोद यादव, अनिता शाहसहितका नेताहरू मुख्य दाबेदारका रूपमा चर्चामा छन्।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमान्डर तोकेको छ। कांग्रेस रुपन्देही–३ का सभापति सुशील गुरुङका अनुसार महामन्त्री शर्माले दुई पटक जिल्ला भ्रमण गरी यहाँको वस्तुस्थितिबारे अध्ययन गरिसकेका छन्।

कांग्रेसले साउन ९ गते लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति रामकृष्ण खाण र आकांक्षी बालकृष्ण खाणसहितलाई बोलाएर पदाधिकारी बैठकमा ब्रिफिङ लिएको थियो। यद्यपि, बालकृष्ण खाणको मुद्दा किनारा लागेमा उनी नै उम्मेदवार बन्ने र मुद्दा नटुंगिएमा संस्थापन इतर समूहका रामचन्द्र ढकालको दाबेदारी बलियो हुने कांग्रेसका एक नेताले बताए।

राप्रपा र माओवादी
राप्रपामा दिवंगत नेता दीपक बोहराको परिवारबाटै उम्मेदवार उठाउने चर्चा छ। उनका छोराहरू प्रज्ज्वल र गौरव बोहरा तथा नातिनी स्वाती थापा प्रतिस्पर्धीका रूपमा देखिएका छन्। जिल्लाबाट ६ जनाको नाम सिफारिस भएर केन्द्रमा गएको छ।

माओवादी केन्द्रले यसपटक आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ। माओवादीका रुपन्देही संयोजक निर्मल जिसीले पार्टीभित्र आकांक्षीहरू धेरै रहेकाले आन्तरिक छलफलपछि छिट्टै उम्मेदवारको टुंगो लगाइने बताए।

स्वतन्त्र उम्मेदवारको चर्चा
उपनिर्वाचनमा काठमाडौं महानगरका मेयर बालेन शाहका खाद्य सल्लाहकार सन्तोष गिरीले आफ्नो उम्मेदवारी दिने तयारी गरेका छन्। उनी अहिले घरदैलोमा सक्रिय छन्।

त्यसैगरी, मेयर शाहका पूर्व कानुनी सल्लाहकार तथा चर्चित कानुन व्यवसायी ओमप्रकाश अर्यालले पनि रुपन्देही-३ बाट उम्मेदवारी दिने तयारी गरिरहेका छन्। दुवैले आफूहरूलाई मेयर शाहको समर्थन रहेको दाबी गर्दै आएका छन्।

रास्वपाबाट मधुसहित नौ आकांक्षी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नौ जना आकांक्षीको सूची सार्वजनिक गरिसकेको छ। रुपन्देही क्षेत्र नं. ३ का क्षेत्रीय सभापतिसमेत रहेका मधु अर्यालदेखि अधिवक्ता, चिकित्सक तथा व्यवसायी र अभियन्तासमेतले आकांक्षीहरू छन्।

अर्याल स्थापनाको केही समयमै पार्टीमा आबद्ध भएका थिए। संगठन निर्माणका क्रममा शहरदेखि मधेशका भित्री बस्तीसम्म पुगेका उनी आफू पार्टीमा लागेसँगै क्षेत्रबाट दुई हजार सात सय पार्टी सदस्यता वितरण गरिसकेको बताउँछन्।

उनले भने, ‘अहिलेका दलहरूले अपेक्षाअनुसार काम गरेनन्। नयाँ दललाई समेत राजनीतिक प्रतिशोध साध्ने काम भइरहेको छ। तर, रास्वपा विचलित भएको छैन। यो उपनिर्वाचनले ‘मिसन ०८४’ को ढोका खोल्नेछ।’

रास्वपाका अन्य आकांक्षीहरूमा समानुपातिकको सूचीमा नाम रहेकी केन्द्रीय सदस्य कुसुम महर्जन, २०७९ को निर्वाचनमा पाँच हजार मत पाएका नेता जितबहादुर गुप्ता, सहकारी अभियन्ता ज्ञानु पौडेल, अमेरिकामा रहेका अभियन्ता सुलभ खरेल छन्।

यसका अलावा रुपन्देही क्याम्पसका पूर्व प्रमुख तथा अधिवक्ता पार्थिवेन्द्र उपाध्याय, न्यूरो सर्जन डा. लेखजंग थापा, पार्टीकी जिल्ला समितिकी कोषाध्यक्ष रचना क्षेत्री र भैरहवामै प्राङ्गारिक मल उद्योग सञ्चालन गरिरहेकी उद्योगी पुनमकुमारी अग्रवाल रहेका छन्।

रास्वपाले प्रारम्भिक निर्वाचन, समावेशिता, पोलिटिकल प्रोक्सिमिटी र लिडरसिप एकेडेमीको नतिजाका आधारमा उम्मेदवारको अन्तिम टुंगो भदौ १५ गते लगाउनेछ। भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म पार्टीको मोबाइल एपबाट अनलाइन भोटिङ हुने पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यले जानकारी दिए।

भदौ १२, २०८२ बिहीबार ११:४८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।