
चीनको विशाल सैन्य परेडमा किम र पुटिनसँगै ओली पनि सहभागी हुने, नयाँ हतियार प्रदर्शन गरिने

एजेन्सी : उत्तर कोरियाली नेता किम जोङ-उन आगामी सेप्टेम्बर ३ मा चीनमा आयोजना हुने विशाल सैन्य परेडमा सहभागी हुने भएका छन्।
चिनियाँ विदेश मन्त्रालयले बुधबार यो जानकारी पुष्टि गरेको हो।
यसैगरी, चीनको सरकारी सञ्चारमाध्यमका अनुसार उक्त विशेष कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पनि उपस्थिति रहनेछ।
चीनले जापानविरुद्धको युद्धमा विजय हासिल गरेको ८०औं वार्षिकोत्सवको अवसरमा यो ‘विजय दिवस’ परेड आयोजना गर्न लागेको हो।
यसमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने नेपालको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।
यो परेडलाई चीनले आफ्नो सैन्य शक्ति र पछिल्लो समय हासिल गरेका उपलब्धिहरू प्रदर्शन गर्ने एक महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।
परेडका क्रममा चीनले आफ्ना सयौँ नयाँ लडाकु विमान, अत्याधुनिक ट्याङ्क र एन्टि-ड्रोन प्रणाली जस्ता नयाँ हतियारहरू विश्वसामु प्रदर्शन गर्नेछ।
यो पहिलो पटक हुनेछ जब चिनियाँ सेनाको नयाँ र आधुनिक शक्तिलाई यति बृहत् रूपमा सार्वजनिक प्रदर्शन गरिनेछ। किम र पुटिनको उपस्थितिमा हुन लागेको यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय जगतले विशेष चासोका साथ हेरेको छ।
भदौ १२, २०८२ बिहीबार ०८:४८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।