
नेपाल प्रहरीलाई अमेरिकी सहयोग, फरेन्सिक ल्याबलाई अत्याधुनिक उपकरण हस्तान्तरण

काठमाडौं : नेपालमा अपराध अनुसन्धान र पहिचानको प्रक्रियालाई थप वैज्ञानिक र प्रभावकारी बनाउन संयुक्त राज्य अमेरिकाले नेपाल प्रहरीलाई सहयोग गरेको छ।
अमेरिकी सरकारले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई अत्याधुनिक उपकरण र प्रविधि हस्तान्तरण गरेको हो।
बुधबार आयोजित एक कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्सनले प्रहरी महानिरीक्षक दीपक थापाको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक थापाले प्राप्त सहयोगले प्रयोगशालाको क्षमता अभिवृद्धि हुने र अनुसन्धानलाई थप विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
‘यी आधुनिक उपकरणले हामीलाई प्रमाणमा आधारित अनुसन्धानमा ठूलो सहयोग पुर्याउनेछ’, उनले भने।
त्यसैगरी, राजदूत थम्सनले यो सहयोगले नेपाल प्रहरीको अनुसन्धान क्षमतालाई सुदृढ गर्ने र हराएका व्यक्तिहरूको पहिचान तथा जघन्य अपराधको सफल अनुसन्धानमा योगदान पुग्ने आशा व्यक्त गर्नुभयो।
भदौ १२, २०८२ बिहीबार ०७:४१:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।