
मनसुन सक्रिय : देशभर वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ र यो क्रम आज दिनभर नै रहनेछ।
मौसमविद् सञ्जीव पुडासैनीका अनुसार, लगातार झरी नभए पनि पानी पर्ने, रोकिने र फेरि पर्ने क्रम दिनभर चल्नेछ।
काठमाडौं उपत्यकासहित देशका अधिकांश भू-भागको मौसम यस्तै रहने उनले बताए।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति भने गण्डकी, कर्णाली, सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी र कोशी प्रदेशका तराई भेगका केही स्थानमा भारी वर्षा हुनेछ।
वर्षाका कारण पहिरो, गेग्रान बहावको जोखिम बढेको छ। नदीनाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
साथै, वर्षाले हवाई तथा सडक यातायातमा समेत असर पार्न सक्ने हुँदा यात्रा गर्नुअघि मौसमको जानकारी लिन महाशाखाले सबैलाई अनुरोध गरेको छ।
भदौ १२, २०८२ बिहीबार ०७:१४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।