अनलाइन जुवा र सट्टाबाजी रोक्न नसकेकोमा सर्वोच्चले सरकारसँग माग्यो जवाफ

अनलाइन जुवा र सट्टाबाजी रोक्न नसकेकोमा सर्वोच्चले सरकारसँग माग्यो जवाफ

काठमाडौं : खेल र मिडियाको आवरणमा निर्बाध अनलाइनबाट हुने जुवा र सट्टाबाजीको प्रचार र जुवा खेलाउनेक्रम बढिरहेको बेलामा सर्वोच्च अदालतले सरकारसँग अनलाइन जुवा र सट्टाबाजी नियन्त्रण गर्न नसक्नुको कारण मागेको छ। बुधवार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले जुवा ऐनले प्रतिबन्ध लगाए पनि नेपालमा निर्बाध रूपमा अनलाइन जुवा र बेटिङ सञ्चालन हुनुको कारण पेस गर्न सरकारका नाममा आदेश दिएको हो।

नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिगमार्फत अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट कम्पनीको प्रचार गरेको थियो। विज्ञापन बोर्डले एनपिएलको पहिलो शृङ्खलामा विज्ञापनको अवैध गतिविधि गरेको भन्दै ब्रान्ड लजिक र टिसिएमलाई नेपालमा तीन महिना प्रतिबन्ध लगाउने निर्णय गर्दै क्यान पदाधिकारीलाई सचेत गराएको थियो।

अहिले त कान्तिपुर म्याक्स लगायतका टेलिभिजनले समेत अनलाइन जुवा प्रवर्धन गर्ने विज्ञापन प्रसारण गर्दै आएका छन्। कानुनले रोक लगाए पनि निर्बाध रूपमा अनलाइन र बेटिङको प्रचार भएपछि कानुनका विद्यार्थीहरू सुवास प्रसाद साह, निशा यादव र आरती कुमारी यादवले मुलुकी अपराध संहिताको दफा १२५ ले जुवा वा सट्टाबाजीलाई अपराध मानेपछि अनलाइनको माध्यमबाट निर्बाध रूपमा जुवा खेलाउने काम भइरहेको भन्दै रोक्न आवश्यक आदेश जारी गर्नुपर्ने माग गर्दै रिट दायर गरेका थिए। रिटको प्रारम्भिक सुनुवाइमै सर्वोच्चबाट सरकारको नाममा आदेश आएको छ।

उनीहरूले रिटमा विज्ञापन बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, साइबर ब्युरो लगायतका निकायले अनलाइन सट्टाबाजी नियन्त्रणमा कुनै पहल नगरेको भन्दै उचित आदेशको माग गरेका थिए। यसमा इजलासले तत्काल अन्तरिम आदेश दिएन। तर अनलाइन जुवा रोक्न नसक्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गर्यो। सर्वोच्चले मुद्दालाई प्राथमिकता (अग्राधिकार)मा राख्न समेत आदेश दिएको छ।

नेपालमा वानएक्सबेट, डाफाबेट, त्रिपलवुल्फसेभेन लगायतका अनलाइन जुवा र बेटिङ खेलाउने कम्पनीहरूले उस्तै लाग्ने सरोगेट ब्रान्ड मार्फत जुवाको प्रचार गर्ने गरेका छन्। यसमा क्रिकेट एसोसिएसन अफ नेपाल अनि एन्फा जस्ता खेलकुद सम्बन्धी सङ्घहरू र मिडियाहरू समेत प्रयोग हुने गरेका छन्। उकेराले यसबारे निरन्तर समाचार प्रकाशित गरेपछि क्यानको स्ट्राटेजिक पाट्नर ब्रान्ड लजिक र टिसिएम कारबाहीमा पर्यो।

प्राइमटिभी, एभिन्युजटिभी लगायतले समाचारमै जुवा खेलाउने कम्पनीको विज्ञापन राखेर प्रवर्धन सुरु गरेपछि उकेराले समाचार प्रकाशित गरेको थियो। लगत्तै उनीहरूले त्यस्ता विज्ञापन हटाएको थियो।पछिल्लो समय कान्तिपुर समूहको कान्तिपुर म्याक्सले खेल सम्बन्धी प्रतियोगिताको प्रत्यक्ष प्रसारणको आवरणमा अनलाइन जुवा र बेटिङको विज्ञापन प्रसारण गरेर प्रवर्धन गरिरहेको छ। यसबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेपछि विज्ञापन बोर्डले स्पष्टीकरण सोधेको थियो।

भदौ ११, २०८२ बुधबार २१:१२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।