
एमाले नेता महरमाथि प्रहरी र सरकारी वकिलको चयनमुखी अनुसन्धान, पक्राउ परेकै दिन बयान र रिहा

काठमाडौं : सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गालीगलौच गरेको जाहेरीको आधारमा पक्राउ परेका एमालेका केन्द्रीय सदस्य ऐन महर बुधवार पक्राउ परे। सोमबार पक्राउ पुर्जी जारी भएका उनलाई नियमित प्रहरी अनुसन्धान अनुसार अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद माग्न अदालत लैजानुपर्ने हो। तर साइबर ब्यूरोको प्रहरीले उनलाई अदालत नलगी काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको थियो।
बुधवार पक्राउ परेका उनको बयान बुधवारै सकियो। अनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई बुधवारै हाजिर जमानीमा छोड्न निर्णय गर्यो। पक्राउ आरोपीलाई हिरासतमा राख्नु पर्ने आधार नदेखिए अनुसन्धान अधिकारीको सिफारिसमा हाजिर जमानीमा छाड्न सक्ने कानुनी प्रावधान छ।
तर साइबर ब्यूरोले यस्तै आरोपमा पक्राउ परेकाहरूलाई पहिला जिल्ला अदालतमा लगेर अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्ने म्याद मागेर हिरासतमा राख्ने, अनुसन्धान गर्ने, अनुसन्धान नसकिए पुन म्याद थप गराएर आवश्यकता अनुसार हाजिर जमानी वा हिरासतमै राखेर अभियोग पत्रसँगै अदालतमा पेस गर्ने गर्दै आएको छ।
अदालतको अनुमतिमा प्रहरीले संगठित अपराध बाहेकको आरोपमा २३ दिनसम्म र संगठित अपराधको आरोपमा तीन महिनासम्म अनुसन्धानका लागि हिरासतमा राख्न पाउने कानुनी प्रावधान रहेको छ।
तर महरको घटनामा भने उनी र उनको श्रीमतीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेर बयान लगायतका अनुसन्धान प्रक्रिया अगाडि बढाउनतिर भन्दा पहिल्यै प्रहरी उनलाई सरकारी वकिलको कार्यालयमा बयान गराएर हाजिर जमानीमा मुक्त गर्न केन्द्रित भएको देखियो।
बुधवार महरसँगै उनको श्रीमतीलाई समेत प्रहरीले एकै आरोपमा नियन्त्रणमा लिएको थियो। महरसँगै उनकी श्रीमती सनुजा श्रेष्ठ पनि हाजिर जमानीमा रिहा भइन्। प्रारम्भमा प्रहरीले महरविरुद्ध जाहेरी नै लिएको थिएन। त्यसपछि पीडित भनिएकी महिलाले हुलाकमार्फत जाहेरी पठाएपछि दर्ता गरेर सोमबार मात्र अदालतबाट पक्राउ अनुमति लिएको थियो।
जाहेरीमा महर र उनको श्रीमतीले सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गालीगलौज गरेको दाबी गरिएको थियो। यस भन्दा अगाडि महरको जाहेरीको आधारमा ती युवती समेत पक्राउ परेकी थिइन्। उनी पनि हाजिर जमानीमा रिहा भएकी थिइन्।
भदौ ११, २०८२ बुधबार १९:१४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।