
रुबी हत्या आरोपीको उपचारकै क्रममा मृत्यु, छातीमा ट्याटु, 'प्रेमका कारण' हत्या र आत्महत्या

काठमाडौं : रुबीकुमारी साहको हत्यामा संलग्न रहेको आरोपमा घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका लक्ष्मण पासवानको मृत्यु भएको छ। रौतहटको माधवनारायण नगरपालिका-२ मुडबलवाकी रुबीको शव शनिवार बेलुका सुटकेसमा भेटिएको थियो।
हत्यामा संलग्नको खोजिकैक्रममा पासवानले सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरेपछि उनलाई नियन्त्रणमा लिन प्रहरी जानेक्रममा पहिल्यै उनले आफैँलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका थिए। बुधवार बिहान आफ्नो घरनजिकै शरीरमा मट्टितेल खन्याएर आगो लगाएको अवस्थामा भेटिएका उनी गम्भीर घाइते रहेकाले स्थानीय अस्पतालमा प्रारम्भिक उपचार गरेर उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो।
थप उपचारका लागि बुधवारै कीर्तिपुरमा रहेको वर्न अस्पताल ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको हो। पासवान रौतहटको माधवनारायण नगरपालिका ६ स्थित राजदेवी मन्दिर नजिकै चौरमा फेला परेका थिए।
आत्महत्याको प्रयास अगाडि उनले सार्वजनिक गरेको भिडियोमा साहको हत्या आफूले गरेको स्वीकार गरेका थिए। घाइते अवस्थामा भेटिएका पासवानले छातीको दाहिनेतिर रुबीको तस्बिरको ट्याटु समेत रहेको खुलेकाले उनीहरुबीच प्रेम सम्बन्ध रहेको र खटपटका कारण हत्या भएको देखिन्छ।
पासवान समेत विवाहित हुन्। रुबी समेत विवाहित हुन्। उनको विवाह भारतमा भएको थियो। उनी छोरो पढाउन भन्दै नेपालमा रहेको माइतीमा बस्दै आएकी थिइन्। पासवान वैदेशिक रोजगारीमा मलेसिया गएका थिए। उनी मलेसियाबाट केही समय अगाडि मात्र नेपाल फर्किएका थिए।
पासवानको दाबी '६ कक्षाबाटै प्रेममा'
घाइते हुनुभन्दा अगाडि सार्वजनिक गरेको भिडियोमा उनले रुबी र आफू कक्षा ६ मा पढ्दादेखि नै प्रेममा रहेको र कक्षा १० मा पढ्ने बेलामा भागेर कोर्ट म्यारिज गरे पनि उनको परिवारले छुटाएर भारतमा विवाह गरिदिएको दाबी गरेका छन्।
भारतमा विवाह गरेपछि पनि रुबीको आमाले दुख दिने गरेको उनको दाबी छ। उनको दाबी अनुसार हत्या भएको दिन रुबी उनलाई भेट्न आएकी थिइन्। भेटमा उनले अब म बाँच्दिन भनेको र झगडा पनि परेको दाबी गरेका छन्। उनले मर्छु भनेपछि आफूले पनि तिमिबिना बाँच्दिन भनेर हत्या गरेको उनको दाबी छ।
उनले भिडियोमा मान्छे मारेपछि जेल जानु पर्ने र परिवार र समाजले समेत गाली गर्ने भन्दै उनले रुबीबिना आफू पनि नबाँच्ने भन्दै आगो लगाएर मर्ने बताएका थिए। प्रहरीले रुबीको हत्यामा संलग्नले शव सुटकेसमा राखेर टेम्पोमा राखेर फाल्न पठाएको खुलेको बताएको थियो।
भिडियोमा उनले यो स्वीकार गरेका छन्। उनले ट्याम्पोवालाको केही गल्ती छैन भन्दै आफैँले रुबीको शव टेम्पोमा राख्दा उसले यसमा कुनै गडबड त छैन भनेर सोधेको बताएका छन्। उनले प्रहरी नियन्त्रणमा रहेका टेम्पो चालकलाई छाडिदिन प्रहरीलाई अनुरोध गरेका थिए।
भदौ ११, २०८२ बुधबार १९:००:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।