माग्ने बुढा घाइते नै भएका हुन् कि फिल्म चलाउने नयाँ फन्डा हो ?

माग्ने बुढा घाइते नै भएका हुन् कि फिल्म चलाउने नयाँ फन्डा हो ?

काठमाडौं : बल्ल बल्ल छक्कापञ्जा टिमबाट बाहिरको फिल्ममा अभिनय गरेको, त्यो पनि मुख्य अभिनेता भएर। तर हलको प्रतिक्रिया प्रतिक्रिया मिश्रित। त्यसमा थप हातै घाइते भयो भने ! यसो सोचौँ त यस्तो बेलामा कलाकार केदार घिमिरे उर्फ माग्ने बुढालाई जति तनाव कसलाई होला? 

समूहमा हल्काफुल्का तनाव भए पनि अन्य साथीहरू समूहबाट बाहिरिँदा घिमिरे छक्कापञ्जा बाहिर आएर फिल्ममा त्यति अभिनय गरेका थिएनन्।

माग्ने राजा भन्दा अगाडि फिल्म ‘रामकहानी’मा अभिनय गरेका थिए। फिल्म चुर्लुम डुब्यो। अब यो माग्ने राजा पनि डुब्यो भने त्यसमा घिमिरेको कला यात्रा मात्र नभिजी जोगिन कहाँ सक्छ र। त्यसमा ‘समूहबाट बाहिर गएर के-के न गर्छु भनेको थ्यो, खायो’ भन्ने घोचपेचको सम्भावना पनि उत्तिकै। 

उनी सके छक्कापञ्जाको व्यापारको रेकर्ड ब्रेक गराउने सुरले मरिमेटेर प्रचारमा लागेका छन्। तर उनी मरिमेटेर लागेर मात्र के गर्नु, फिल्म त कमजोर बनेकै हो। मिश्रित प्रतिक्रिया छ। प्रतिस्पर्धी फिल्मको तुलनामा हलको अकुपेन्सी राम्रो छ। तर त्यसले छक्कापञ्जाको रेकर्ड ब्रेक हैन कि छेउछाउ पुग्न पनि कठिन देखिन्छ। त्यसमा पनि यही बेलामा उनको हातमा समस्या देखियो।

अरू बेला वर्षा सहितको टिममा देखिएका केदार बुधवार दाहिने हातमा काम्रो बोकेर हल-हल दौडिएको देखियो। उनलाई फिल्मका वितरक रोहित कट्टेलले हातमा समाउँदै हल भिजिट गराएको तस्बिर फेसबुकमा सार्वजनिक गरे।

निर्माण टिमको दाबी अनुसार उनी मंगलबार इमाडोलस्थित घर नजिकको कोर्टमा ब्याडमिन्टन खेल्दा चिप्लिएर लड्दा दाहिने कुहिनो भुईँमा बज्रियो र कुममा समस्या देखियो। तर त्यति हुँदा पनि उनले एक्स–रे गरेका छैनन् रे!

अस्पताल गएर एक्स रे गर्न छाडेर हलमा देखिएका माग्नेका कारण हल्का शङ्का भने बढायो है। किनकि यो फिल्मको प्रारम्भदेखि नै निर्माण टिम कहिले कलाकारको पारिश्रमिकको फन्डा र कहिले अनुबन्धित कलाकारको सिन काट्दा निरन्तर विवादमा आइरहेको छ।

फिल्म प्रचारमा विवाद भनेको डुब्न लागेको फिल्म उतार्ने बुटी पनि हो। हलको अकुपेन्सीका आधारमा निर्माण टिमले सोचे जस्तो फिल्मको व्यापार त छैन। अब फिल्म लागेको ६ दिन भइसकेकाले माउथ पब्लिसिटीले दर्शक बढ्ने सम्भावना पनि देखिन्न। हल्ला गर्नेले गरिसके।

यसैमा कतै फिल्म चलाउन निर्माताले 'सेन्टिमेन्ट क्यास' गर्न थप एक हजार खर्च गरेर माग्नेलाई काम्रो भिराएका त हैनन्?

के विधि शंका गरेको भन्ने नि लाग्ला। अब देखिएको मति अनुसार पत्याउनु पनि कसरी!  यसो कन्ट्रोभर्सीका लागि भनिदिई न त भनेर ६५ लाख पारिश्रमिकको गफ दिने 'माग्ने राजा'का निर्माताको स्वभाव सार्वजनिक भइसकेकै हो।

अनि घाइते भएर अस्पताल जानुको साटो हलतिर जाने अनि फोटो खिचेर फेसबुकमा पोस्ट्याउने कामले पनि शंका त बढाउँछ नि। के थाहा 'हल्का रमाइलो' नै पो गरेका हुन् कि। तस्बिर हेरौँ त चोट कुममा लागेको दाबी छ तर काम्रो लन्ठ्याङ हातमा छ। यो त कुइनोमा चोट लाग्दा लगाउने खालको शैली हो नि त। अनि एक्स रे नै नगरी कहाँ चोट लाग्यो भनेर हेरेकै भरमा चाल पाएको चैं कसरी ? अनि शंका नगर्नु त !

तर यति साह्रो चैं नहोस्। आफैँ फेसबुकमा तस्बिर राखेर घाइते हात देखाएका उनले एक्स रे रिपोर्ट पनि त राख्लान् नि। अभिनेता केदार घाइते नै भएका हुन् भने उनको शीघ्र स्वास्थ्य सुधारको कामना।

भदौ ११, २०८२ बुधबार १७:५९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।