गाजामा इजरायली आक्रमणमा मारिएका पत्रकारहरूको बारेमा बोल्यो भारत

गाजामा इजरायली आक्रमणमा मारिएका पत्रकारहरूको बारेमा बोल्यो भारत

एजेन्सी : गाजामा इजरायली आक्रमणमा मारिएका पत्रकारहरूप्रति भारतले प्रतिक्रिया जनाएको छ।

भारतको विदेश मन्त्रालयले पत्रकारको हत्या भयानक र अत्यन्तै दु:खद् भएको बताएको छ।

उनले भने, ‘भारतले सधैँ द्वन्द्वको समयमा सर्वसाधारणको हत्याको निन्दा गरेको छ। हामीलाई थाहा छ कि इजरायली अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्।’

दक्षिणी गाजाको खान युनिसमा रहेको नासेर अस्पतालमा इजरायली आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मारिनेहरूमा अन्तर्राष्ट्रिय मिडियामा काम गर्ने पाँच जना पत्रकार पनि थिए।

धेरै मिडिया संस्थाहरूले मृतक पत्रकारहरूले रोयटर्स, एपी, अल जजीरा र मिडल इस्ट आईका लागि काम गरेको पुष्टि गरेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यसलाई ‘दुःखद दुर्घटना’ भने र सैन्य अधिकारीहरूले ‘पूर्ण अनुसन्धान गरिरहेको’ बताए।

भदौ ११, २०८२ बुधबार १३:४१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।