३० रुपैयाँको झगडाले दुई दाजुभाइको कुटीकुटी हत्या

३० रुपैयाँको झगडाले दुई दाजुभाइको कुटीकुटी हत्या

एजेन्सी : पाकिस्तानको एउटा फलफूल बजार। आँप र केरा बिक्री भइरहेको छ, वरिपरि मानिसको भीड छ। यही भीडको बीचमा, रातो कुर्ता लगाएका एक व्यक्ति रगतले लतपतिएका छन्। उनले आफ्नो घाइते भाइको टाउको काखमा राखेका छन्।

यही घटनाको एउटा भिडियो अहिले पाकिस्तानभर भाइरल भएको छ। भिडियोमा दुवै दाजुभाइ गम्भीर घाइते देखिन्छन्। तर, उल्टो टोपी लगाएको एक व्यक्तिले घाइते भाइलाई काखमा राखेका दाइको टाउकोमा क्रिकेट ब्याटले हानिरहेको देखिन्छ।

यो दर्दनाक घटनामा राशिद र वाजिद नामका दुई दाजुभाइको ज्यान गएको छ। यो कुनै पुरानो रिसइबी वा पारिवारिक झगडा थिएन। प्रहरी र परिवारका अनुसार, यो हत्याको कारण थियो - केही मिनेटको बहस र मात्र ३० रुपैयाँ।

यो घटनामा फलफूल बिक्रेता ओवैस र तैमुर नामका दुई दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ।

‘मेरा दुई सिंहजस्ता छोराहरू ३० रुपैयाँमा मारिए। जनावरलाई पनि कसैले यसरी मार्दैन जसरी उनीहरूले मेरा छोरालाई मारे,’ मृतकका बुबा सईद इकबालले बीबीसीसँग रुँदै भने, ‘एक जनाले क्रिकेट ब्याटले हानिरह्यो, वरिपरि उभिएका मानिसहरूले मोबाइलले भिडियो बनाए तर कसैले रोक्न खोजेनन्। यो कस्तो समाज हो? भगवानले मेरा दुश्मनका छोराछोरीलाई पनि यस्तो दिन नदेखाऊन्।’

सईदका अनुसार, दूधको व्यापार गर्ने उनका छोराहरू काम सकेर घर फर्किँदै गर्दा फलफूल किन्न रोकिएका थिए। त्यहीँ उनीहरूको हत्या भयो। मृतकका भाइ साजिदका अनुसार राशिद र वाजिद ओवैसको ठेलाबाट केरा किन्न रोकिएका थिए। ओवैसले एक दर्जन केराको १३० रुपैयाँ मागे।

राशिदले आफूसँग १०० रुपैयाँको नोट र अरू ५००० का ठूला नोट मात्र भएको बताए। ओवैस १०० रुपैयाँमै केरा दिन राजी भयो। तर, नजिकै रहेको ओवैसको भाइ तैमुरलाई यो कुरा मन परेन र उसले गाली गर्न थाल्यो। राशिद र वाजिदले गाली नगर्न भनेपछि विवाद बढ्यो र कुटपिट सुरू भयो।

साजिद भन्छन्, ‘त्यहाँ २५० जनाभन्दा बढी मानिस थिए, तर कसैले पनि झगडा रोक्ने हिम्मत गरेनन्।’

प्रहरीका अनुसार, विवाद पैसाको लेनदेनबाट सुरू भएको थियो।

प्रहरीले भन्यो, ‘पसलेले ३० रुपैयाँ खुद्रा मागे, जुन उनीहरूसँग थिएन। खुद्रा नभएपछि पसलेले ३० रुपैयाँ बराबरको केरा फिर्ता मागे। यही विषयमा भनाभन सुरू भयो।’

प्रहरीका अनुसार, सुरूमा दुई दाजुभाइले फलफूल बिक्रेतालाई कुटे। त्यसपछि, नजिकका अरू पसलेहरूले बिक्रेताका भाइहरूलाई बोलाए र सबै मिलेर राशिद र वाजिदमाथि आक्रमण गरे, जसकारण उनीहरूको मृत्यु भयो।

परिवारका अनुसार, राशिदको घटनास्थलमै मृत्यु भएको थियो भने वाजिदको उपचारमा ढिलाइ भएका कारण अस्पतालमा ज्यान गयो।

मृतकका भाइ साजिदका अनुसार, वाजिद एक राम्रो क्रिकेटर थियो। उसलाई क्लबहरूले प्रतियोगिता खेलाउन लैजान्थे र १०-१५ हजार रुपैयाँसम्म दिन्थे।

उसको खेल्ने तरिका अष्ट्रेलियाका क्रिकेटर ग्लेन म्याक्सवेलको जस्तै थियो। त्यसैले, साथीहरूले उसलाई मायाले ‘लिटिल म्याक्सवेल’ भन्थे। तर, एउटा सानो विवादले उसको सपना र जिन्दगी दुवै समाप्त गरिदियो।

बीबीसीबाट अनुवाद गरिएको

भदौ ११, २०८२ बुधबार १३:२५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।