
डढेको अवस्थामा फेला परे रुबी हत्याका आरोपी, आत्महत्या प्रयासको शंका

काठमाडौं : रौतहटको माधवनारायण नगरपालिका-२ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा फरार रहेका व्यक्ति जलेर घाइते भएको अवस्थामा फेला परे।
हत्याका मुख्य संदिग्ध माधोपुर घर भएका लक्ष्मण पासवान बुधबार बिहान आफ्नै घर नजिकै शरीर आगो लागेर गम्भीर घाइते भएको अवस्थामा फेला परे।
शरीरका विभिन्न भाग जलेका उनी बोल्नसक्ने अवस्थामा छैनन्। प्रहरीले उनले आत्महत्याको प्रयास गरेको शंका गरेको छ।
शनिबार साँझ रुबी गौरस्थित ब्यूटी पार्लरमा फेसियल गर्न गएकी थिइन्।
आइतबार भारतको मुजफरपुरस्थित आफ्नो घर जाने तयारीका लागि उनी पार्लर गएकी थिइन्। फेसियल गरेर पार्लरबाट बाहिर निस्किएकोसम्म पुष्टि भए पनि त्यसपछिको घटनाक्रम खुलेको थिएन।
एकाएक हराएकी उनको शव सुटकेसमा प्याक गरेर सडकमा छाडेको अवस्थामा फेला परेको थियो। नेपाल माइति र भारत घर भएकी उनको हत्या कसले र किन गर्यो खुलेको थिएन।
प्रहरीले अनुसन्धानमा सुटकेस ल्याएर सडकमा फ्याक्ने अटोरिक्साको पहिचान गर्यो। रिक्सा चालकले सुटकेसमा सामान होला भनेर बोकेको र ब्यक्ती नचिन्ने दाबी गरे पनि लोकेसन खुलाए।
त्यसको आधारमा प्रहरी पासवानको घरसम्म पुग्न सफल भयो। उनी घरमा थिएनन्। प्रहरीले रुबीको चप्पल फेला पार्यो।
प्रहरीले आफुलाई खोजेको चाल पाएपछि लुकेका पासवानले टेलिग्राममा भिडियो राखेका थिए। प्रहरी खोजिमै रहेको बेलामा उनी घाइते भएको सूचना पाएर जाँदा बुधबार जलेको अवस्थामा फेला परे।
जिल्ला प्रहरी कार्यालय गौरका एक प्रहरीका अनुसार आगोले पासवानको पूरै शरीर जलेको छ। अनुहार समेत जलेकाले बोल्नसक्ने अवस्थामा छैनन्।
पासवानलाई तत्कालै उपचारको लागि स्थानीय अस्पताल लगे पनि उपचार सम्भव नभएपछि काठमाडौं ल्याउने तयारी गरेको छ।
भदौ ११, २०८२ बुधबार १२:२८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।