
पपस्टार टेलर स्विफ्टले गरिन् इन्गेजमेन्ट, ट्रम्पले दिए शुभकामना

एजेन्सी : चर्चित अमेरिकी पपस्टार टेलर स्विफ्टले आफ्ना प्रेमी तथा अमेरिकी फुटबल खेलाडी ट्राभिस केल्सीसँग इन्गेजमेन्ट गरेकी छिन्।
स्विफ्टले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत तस्बिरहरू सार्वजनिक गर्दै यो खुसीको खबर फ्यानहरूसँग साटेकी हुन्।
उनले एक रमाइलो क्याप्सन लेख्दै भनेकी छिन्, ‘तिम्रो अंग्रेजी शिक्षक र जिम शिक्षकले बिहे गर्दैछन्।’
उनले पोस्ट गरेका तस्बिरहरूमा ट्राभिसले स्विफ्टलाई विवाहको प्रस्ताव राख्दै गरेको देखिन्छ।
अन्य तस्बिरहरूमा उनीहरू एक-अर्कालाई अँगालो हालेको र हात समातेको देखिन्छ, जहाँ स्विफ्टको हीराको इन्गेजमेन्ट औँठी स्पष्ट रूपमा देखिएको छ।
यो इन्स्टाग्राम पोस्ट सार्वजनिक भएलगत्तै भाइरल भएको छ र यसलाई हालसम्म करिब २५ लाखभन्दा बढीले लाइक गरिसकेका छन्।
ट्राभिस केल्सी एक चर्चित अमेरिकी फुटबल खेलाडी हुन्। उनी नेशनल फुटबल लिग (एनएफएल)मा क्यान्सास सिटी चिप्स टिमबाट खेल्छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जोडीलाई शुभकामना दिएका छन्।
उनले भनेका छन्, ‘उनी (ट्राभिस केल्सी) एक महान खेलाडी हुन् र मलाई लाग्छ उनी एक उत्कृष्ट व्यक्ति पनि हुन्।’
भदौ ११, २०८२ बुधबार १२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।