नाडा अटो शोमा जिली ईएक्स५ को कीर्तिमानी बुकिङ, ६ दिनमा १८७ गाडी बुक

नाडा अटो शोमा जिली ईएक्स५ को कीर्तिमानी बुकिङ, ६ दिनमा १८७ गाडी बुक

काठमाडौं : हालै सम्पन्न नाडा अटो शोमा जिलीको विद्युतीय गाडी ‘जिओमेट्रिक ईएक्स५’ले कीर्तिमानी बुकिङ हासिल गरेको छ।

ड्रीमस्मार्ट चाइनाको आधिकारिक आयातकर्ता एलआरआर मोटर्स प्रालिले शोको ६ दिनमा कुल १८७ वटा गाडीको बुकिङ लिँदै बजारमा बलियो उपस्थिति जनाएको हो।

‘म्याक्स’ र ‘प्रो’ गरी दुई भेरियन्टमा प्रदर्शनीमा राखिएको जिली ईएक्स५ को स्टलमा अवलोकनकर्ताहरूको उल्लेख्य भीड लागेको थियो।

अत्याधुनिक प्रविधि, लामो रेन्ज र आकर्षक डिजाइनका कारण प्रिमियम तथा स्टाइलिश विद्युतीय गाडी खोज्ने ग्राहकहरूलाई यसले आकर्षित गरेको कम्पनीको दाबी छ।

‘नाडामा जिली ईएक्स५ ले पाएको उत्साहजनक प्रतिक्रियाले हामीलाई थप हौसला प्रदान गरेको छ,’ एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले भने, ‘६ दिनमै १८७ वटा बुकिङ हुनु जिलीको नवप्रवर्तनमाथिको विश्वास र नेपालमा दिगो यातायातका साधनको बढ्दो मागको स्पष्ट संकेत हो। यो सफलताले नेपाली बजारमा विश्वस्तरीय विद्युतीय गाडी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।’

श्रेष्ठका अनुसार, जिली ईएक्स५ मा प्रयोग गरिएको नवीनतम र परिमार्जित ब्याट्रीले विशेषगरी नेपाली उपभोक्ताहरूलाई आकर्षित गरेको हो। गाडी निर्माता जिली होल्डिङ ग्रुप आफैँले उत्पादन गरेको यो ब्याट्रीले ‘एट-निडल’ परीक्षण पास गरेको छ। यो विश्वकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित ब्याट्री भएको कम्पनीले जनाएको छ।

यस ब्याट्रीको आयु ३५०० चार्ज रिसाइकल (करिब १० लाख किमि वा ५० वर्ष) रहेको छ, जुन हाल बजारमा उपलब्ध अन्य ब्याट्रीको क्षमताभन्दा निकै बढी हो। साथै, आयातकर्ता एलआरआर मोटर्सले ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टीसमेत प्रदान गरेको छ।

कम्पनीका अनुसार, नाडामा प्राप्त सफलताले वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने र नेपालको हरित तथा दिगो भविष्यलाई समर्थन गर्ने आफ्नो दृष्टिकोणलाई थप बलियो बनाएको छ। बुकिङ भएका गाडीहरूको डेलिभरी आजैदेखि सुरू गरिने कम्पनीले जानकारी दिएको छ।

भदौ ११, २०८२ बुधबार ११:३६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।