नुवाकोटमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, एक घाइते

नुवाकोटमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, एक घाइते

नुवाकोट : नुवाकोटको ककनी गाउँपालिका-२, काउलेमा पासाङल्हामु सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दिउँसो करिब १२:४० बजे काठमाडौंबाट रानिपौवातर्फ जाँदै गरेको बा.प्र.०२-०५५ प ५१४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक, इलामको पशुपति नगरपालिकाका अन्दाजी ४०-४५ वर्षीय किरण राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि काठमाडौंको ग्रिन सिटी अस्पताल पठाइएकोमा दिउँसो १:४५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ।

सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका अन्दाजी ४३ वर्षीय ज्ञानेन्द्र राईको टाउकोमा सामान्य चोट लागेको छ भने दाहिने हात र खुट्टा सुन्निएको छ। उनको अवस्था सामान्य रहेको र ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनास्थल प्रहरी चौकी रानिपौवाबाट करिब ३ किलोमिटर पूर्व पर्छ। प्रहरी चौकी रानिपौवाबाट प्रहरी नायब निरीक्षक श्याम माझीको कमान्डमा २ जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाग्रस्त मोटरसाइकल सडकमा नै रहेको र प्रहरी नियन्त्रणमा रहेको छ।

भदौ ११, २०८२ बुधबार १०:१४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।