
दोलखामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक जना घाइते

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका-६, रमितेडाँडामा राति करिब ९ बजे भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
लामोसाँघु-जिरी सडकखण्डमा काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेको बा.प्र. ०२-०३४ प ३२४२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा ९३ प ८८९९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा परेर बा.प्र. ०२-०३४ प ३२४२ नम्बरको मोटरसाइकलका चालक, भीमेश्वर नगरपालिका-५ माटीका २४ वर्षीय सिरिष बस्नेत र बा ९३ प ८८९९ नम्बरको मोटरसाइकलको पछाडि सवार भीमेश्वर नगरपालिका-३ मिर्गेका २६ वर्षीय सुजन भन्ने श्यामबहादुर खत्रीको उपचारका क्रममा राति १०:२० बजे च्छो-रोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
मृतक बस्नेत गौरीशंकर बहुमुखी क्याम्पसका अनेरास्ववियु सभापति रहेको बुझिएको छ।
बा ९३ प ८८९९ नम्बरको मोटरसाइकलका चालक, बैतेश्वर गाउँपालिका-५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् र उनी हाल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन्।
दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाको कमान्डमा १० जना र प्रहरी चौकी सातदोबाटो दोलखाबाट प्रहरी सहायक निरीक्षक नेत्रप्रसाद घिमिरेको कमान्डमा २ जनाको टोली खटिएको थियो। दुर्घटनामा संलग्न दुवै मोटरसाइकल जिल्ला प्रहरी कार्यालय दोलखाको नियन्त्रणमा रहेका छन्।
मृतकहरूको शव पोष्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
भदौ ११, २०८२ बुधबार १०:०४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।