आजदेखि भारतमाथि ५० प्रतिशत अमेरिकी कर, ४८ अर्ब डलरको निर्यातमा प्रत्यक्ष असर

आजदेखि भारतमाथि ५० प्रतिशत अमेरिकी कर, ४८ अर्ब डलरको निर्यातमा प्रत्यक्ष असर

एजेन्सी : भारतबाट अमेरिका निर्यात हुने सामानमा आजदेखि ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लाग्ने भएको छ। २५ प्रतिशत शुल्क यसअघि अगस्ट ७ देखि नै लागू भइसकेको थियो भने बाँकी २५ प्रतिशत शुल्क आजदेखि थपिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भारतले रुसबाट तेल किनेको भन्दै जरिवाना स्वरूप यो अतिरिक्त शुल्क लगाएको हो। ट्रम्प प्रशासनले जारी गरेको सूचना पूर्ण रूपमा भारतमाथि केन्द्रित छ। तर, रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता चीनबारे भने सूचनामा केही उल्लेख गरिएको छैन।

यो निर्णयले अमेरिकामा हुने भारतको ४८ अर्ब डलरभन्दा बढीको निर्यातमा सीधा असर पार्नेछ। नयाँ नियमअनुसार, अगस्ट २७ को मध्यरातपछि अमेरिका भित्रिने वा गोदामबाट बजारमा पठाइने सबै भारतीय सामानमा बढेको शुल्क लाग्नेछ।

यसको अर्थ, पहिले नै अमेरिका पुगेर गोदाममा थन्किएका सामानमा समेत ५० प्रतिशत ट्यारिफ लाग्नेछ।

भारतबाहेक यति ठूलो आयात शुल्कको सामना गर्ने अर्को देश ब्राजिल मात्र हो। भारतले भने अमेरिकाको यो कदमलाई ‘अनुचित र अविवेकी’ भनेको छ।

यता, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले ‘रुस-युक्रेन युद्ध रोक्न भारतमाथि प्रतिबन्ध लगाइएको’ बताएकी छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि भारतले रुसी तेल बेचेर नाफा कमाएको आरोप लगाएका छन्।

कुन सामानलाई छुट छ?
अमेरिकी आदेशअनुसार, अगस्ट २७ को मध्यरातभन्दा पहिले नै जहाजमा लोड भइसकेका र अमेरिकाको बाटोमा रहेका सामानमा भने यो शुल्क लाग्ने छैन। तर, त्यस्ता सामान सेप्टेम्बर १७ भित्र बजारमा पठाइसक्नुपर्नेछ।

ट्यारिफबाट विशेषगरी कपडा, तयारी पोशाक, रत्न-आभूषण, छाला, जुत्ता, रसायन र मेसिनरी सामानमा असर पर्नेछ भने औषधि, ऊर्जा उत्पादन र इलेक्ट्रोनिक सामानमा यसको कुनै असर पर्ने छैन।

यो नयाँ शुल्कले अमेरिकी बजारमा भारतका प्रतिस्पर्धी देशहरूलाई भने फाइदा पुग्नेछ। म्यान्मार, थाइल्यान्ड, बंगलादेश, चीन र भियतनामजस्ता देशका सामान भारतीय सामानभन्दा सस्ता हुनेछन्, जसले गर्दा भारतले बजार गुमाउन सक्नेछ।

विज्ञहरूका अनुसार, ५० प्रतिशत ट्यारिफले भारतका कपडा, गहना, छाला र मेसिनरी उद्योगमा ठूलो असर पर्नेछ। उत्पादन घट्दा यी क्षेत्रमा हजारौँको रोजगारी जोखिममा पर्न सक्नेछ।

भारतमाथि कडा कदम चाल्ने अमेरिकाको दोहोरो चरित्र पनि देखिएको छ। एकातिर भारतलाई रुससँग कारोबार गरेकोमा दण्ड दिइरहेको छ भने अर्कोतिर आफैं रुससँग व्यापार गर्न वार्ता गरिरहेको छ। अमेरिकाले युक्रेन युद्धपछि बन्द भएको आफ्नो कम्पनी ‘एक्सोन मोबिल’ लाई रुसमा फेरि तेल उत्पादन गर्न दिन चाहेको छ।

भदौ ११, २०८२ बुधबार ०८:२०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।