
खाँदबारीमा सुक्खा पहिरोले एक घर भत्कियो

खाँदबारी : सङ्खुवासभाको खाँदबारी नगरपालिका-४ सेकाहा च्यानडाँडामा सुक्खा पहिरो खस्दा स्थानीय धर्मगुरु दोर्ची लामाको घर पूर्ण रूपमा भत्किएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार आज बिहान खसेको पहिरोले जस्तापाताले छाएको दुईतले ढुङ्गामाटोको घर पूरै क्षति बनाएको हो।
घटनामा मानवीय वा पशुचौपायाको क्षति नभए पनि करिब पाँच लाख रूपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ।
पीडित परिवारका अनुसार लामाको घर पहिल्यै जोखिममा थियो।
कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक खण्ड निर्माणका क्रममा एक्स्काभेटरले ढुङ्गा फुटाउँदा जमिन चिराचिरा परेर घरमा प्रत्यक्ष असर परेको उनीहरूको आरोप छ।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाइएपछि अहिले सडक आवागमन सामान्य भएको छ।
धर्मगुरुका रूपमा पुरोहित कर्मकाण्ड गर्दै आएका लामा स्थानीय बासिन्दाले संयुक्त रूपमा घर बनाई बसोबासको व्यवस्था मिलाएका व्यक्ति हुन्।
भदौ १०, २०८२ मंगलबार २१:४५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।