
वीरगन्जमा हैजा : १० मध्ये आठ नमुनामा संक्रमण

वीरगन्ज : वीरगन्जमा हैजाको आशंकामा परीक्षण गरिएका १० बिरामीमध्ये आठ जनामा संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रन्जनराज भट्टले १० वटा नमुनामध्ये आठवटामा हैजाको संक्रमण पुष्टि भएको जानकारी दिए।
‘वीरगन्जबाट हैजाका लक्षण देखिएका बिरामीको दिसा संकलन गरेर नमुना परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो,’ उनले भने, ‘प्रयोगशालामा रहेको भाइटेक प्रविधिबाट कल्चर गर्दा १० नमुनामध्ये आठमा संक्रमण भेटियो।’
निर्देशक डा. भट्टले स्थानीय अस्पतालले यसअघि नै ‘आरडिटी’ गरेर हैजा भएको पुष्टि गरे पनि थप यकिन गर्न नमुना परीक्षण गरिएको जानकारी दिए।
‘वीरगन्जका स्थानीय अस्पतालले आरडिटी गरेर हैजा भएको त थाहा पाइसक्नुभएको थियो। कहिलेकाहीँ त्यसमा केही नतिजा फरक आउन सक्ने भएकाले थप पुष्टिका लागि यहाँ कल्चर गरिएको हो’, उनले भने।
भदौ १०, २०८२ मंगलबार २१:३८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।