‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ (तस्बिरहरू)

काठमाडौं : भाद्र शुक्ल तृतीयाका दिन आज देशभरका हिन्दु महिलाहरूले हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजाआराधना गरी श्रद्धा र उल्लासपूर्वक मनाए।
शिवालयहरूमा बिहानैदेखि व्रतालु महिलाहरूको भीडले पर्वको रौनकलाई शिखरमा पुर्यायो। राता, हरिया र पहेँला पहिरनमा सजिएका महिलाहरूको उपस्थितिले मन्दिर परिसरहरू रंगीन बने।
पौराणिक कथनअनुसार, पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउन गरेको कठोर तपस्या र व्रतको सम्झनामा यो पर्व मनाउने गरिन्छ।
हिजो राति खाइएको दरको भरमा आज दिनभर निराहार र कतिपयले निर्जला व्रत बसेर महिलाहरूले आफ्नो अटल भक्ति प्रकट गरे। उनीहरूले शिव-पार्वतीको पूजा गरी आफ्नो परिवार, श्रीमान् र सन्तानको सुस्वास्थ्य तथा दीर्घायुको कामना गरे।
तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर, डोलेश्वरदेखि देशभरका शिवालयहरूमा दर्शनार्थीहरूको लामै देखिन्थ्यो।
देशभर जस्तै बुटवलका शिव मन्दिरहरूमा पनि तीजको विशेष उल्लास छायो। महिला तथा किशोरीहरू समूह-समूहमा जम्मा भएर तीजका भाकामा कम्मर मर्काउँदै नाचे। उनीहरूको अनुहारमा व्रतको थकानभन्दा उत्सवको ऊर्जा बढी देखिन्थ्यो।
यसैबीच, बुटवलमा महिला तथा किशोरीहरू नाचिरहेको माहोलमा केही किशोरहरू पनि मिसिए।
उनीहरूले चर्चित गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ गीतको शैलीमा कम्मर भाँचेर नाच्दा माहोल थप रमाइलो बन्यो।
दिनभरको व्रतले कमजोर बनेका व्रतालुहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल प्रहरीले प्रशंसनीय काम गरेको छ। ठाउँ-ठाउँमा प्रहरीले व्रतालु महिलाहरूका लागि खानेपानीको व्यवस्था गरी वितरण गरेको थियो।
भदौ १०, २०८२ मंगलबार १८:१९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।