विराट कोहलीको ‘लाइक’मा अवनीत कौरको प्रतिक्रिया- ‘यस्तै माया मिलिरहोस्’

एजेन्सी : केही महिनाअघि भारतीय क्रिकेटर विराट कोहलीले अभिनेत्री अवनीत कौरको फ्यान पेजको एक पोस्ट ‘लाइक’ गरेपछि त्यसले निकै चर्चा पाएको थियो। अहिले आएर अभिनेत्री अवनीतले अप्रत्यक्ष रूपमा यसबारे पहिलो पटक बोलेकी छन्।
आफ्नो आउँदो फिल्म ‘लभ इन भियतनाम’ को ट्रेलर सार्वजनिक कार्यक्रममा ‘ठूला सेलिब्रेटीहरूबाट अनलाइनमा यस्तो ध्यान र प्रशंसा पाउँदा कस्तो लाग्छ?’ भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिइन्, ‘यस्तै माया मिलिरहोस्।’
गत मे महिनामा विराट कोहलीले अवनीत कौरको एक पोस्ट लाइक गरेका थिए।
यद्यपि, केही समयपछि नै उनले उक्त लाइक हटाइहाले, तर त्यतिबेलासम्म उनको लाइकको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो। यस विषयमा विभिन्न किसिमका चर्चाहरू सुरू भएपछि विराटले स्पष्टीकरण दिनुपरेको थियो।
विराटले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेका थिए, ‘म यो स्पष्ट पार्न चाहन्छु कि आफ्नो फिड क्लियर गर्ने क्रममा एल्गोरिदमले गल्तीले कुनै अन्तरक्रिया दर्ता गरेको देखिन्छ। यसमा मेरो कुनै नियत थिएन। कृपया अनावश्यक कुराहरू नबनाउनु होला। बुझिदिनुभएकोमा धन्यवाद।’
विराटले अवनीतको फ्यान पेजको पोस्ट लाइक गरेलगत्तै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले विभिन्न प्रकारका प्रतिक्रिया दिएका थिए।
अभिनेत्री अवनीत कौरको फिल्म ‘लभ इन भियतनाम’ १२ सेप्टेम्बर २०२५ मा रिलिज हुँदैछ।
भदौ १०, २०८२ मंगलबार १८:०१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।