मनमुटाव पन्छाउँदै ‘रिमै’को प्रचारमा दयाहाङ र रिश्मा, विवादबारे पहिलोपटक खोले मुख

काठमाडौं : लामो समयदेखि निर्माण टिमसँगको विवादका कारण चर्चामा रहेको फिल्म ‘रिमै’को टिम अन्ततः प्रचारप्रसारमा जुटेको छ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङ राई, अभिनेत्री रिश्मा गुरुङ र कार्यकारी निर्माता बिरबल गुरुङले फिल्मलाई लिएर उत्पन्न विवादबारे मुख खोलेका छन्।
पूर्ण रूपमा समस्या समाधान नभए पनि फिल्म प्रदर्शनका लागि सबै पक्ष एकसाथ अघि बढ्न तयार भएको उनीहरूले बताए।
कार्यक्रममा अभिनेता दयाहाङ राईले निर्माण टिमसँग आफ्नो ‘सानो चित्त दुखाइ’ रहेको स्वीकार गरे।
‘प्राविधिक पाटोमा केही आर्थिक अप्ठ्यारो परेको थियो, जसलाई सुल्झाउन म अग्रपंक्तिमा थिएँ,’ निर्माता गुरुङतर्फ हेर्दै राईले भने, ‘त्यही अडानमा म बसेको हुँ। समस्या समाधान गरेर अगाडि बढौँ भन्ने थियो। तर पछि व्यस्तताले गर्दा सम्पर्क हुन सकेन।’
छायांकनको क्रममा आएको आर्थिक संकट टार्न आफूले प्राविधिकहरूलाई दिएको रकम फिर्ता नपाएको र प्रदर्शन मिति तोक्दा आफूसँग सल्लाह नगरिएकोमा उनको मुख्य गुनासो थियो।
उनले थपे, ‘बजारमा आएजस्तो ठूलो विवाद केही होइन, तर केही समय सम्पर्कविहीन भयौँ।’
अभिनेत्री रिश्मा गुरुङले पनि आफूले पूरा पारिश्रमिक पाएको तर अन्तिम समयमा निर्माण पक्षलाई आर्थिक सहयोग गरेको बताइन्।
के थियो विवादको जड?
फिल्म छायांकनकै क्रममा निर्माता तथा वितरक रोहित कट्टेलको टिमसँग निर्माण पक्षको मतभेद भएपछि विवाद सुरू भएको थियो। आफ्नो लगानी फिर्ता नपाएपछि कट्टेलको टिमले फिल्म रोक्न चलचित्र संघमा उजुरी दिएको थियो।
त्यतिबेला सुटिङ नरोकियोस् भनेर दयाहाङले प्राविधिकहरूको पारिश्रमिक आफैँले व्यहोरेका थिए। पछि सोही रकम फिर्ता नपाएपछि उनले फिल्म प्रदर्शनमा असन्तुष्टि जनाएका थिए।
यता, प्राविधिक संघले पनि आफ्नो पारिश्रमिक नपाए फिल्म चल्न नदिने चेतावनी दिएपछि निर्माण टिममाथि चौतर्फी दबाब बढेको थियो।
अहिले सबै पक्षबीच छलफल भएर फिल्मलाई प्रदर्शनमा ल्याउने सहमति जुटेको हो। खिलबहादुर गुरुङको निर्देशनमा बनेको ‘रिमै’मा दयाहाङ र रिश्माका साथै अर्पन थापा, गौमाया गुरुङ लगायतका कलाकारको अभिनय छ।
‘कबड्डी’ फिल्मको सफल सहकार्यपछि दयाहाङ र रिश्माको जोडीलाई यस फिल्ममा पुनः एकसाथ देख्न पाइनेछ।
भदौ १०, २०८२ मंगलबार १६:३६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।