टिजरको फाइल तयार नहुँदा ‘जेरी अन टप’को कार्यक्रम तीन घण्टा ढिलाइ, पत्रकार कुरेको कुर्यै

टिजरको फाइल तयार नहुँदा ‘जेरी अन टप’को कार्यक्रम तीन घण्टा ढिलाइ, पत्रकार कुरेको कुर्यै

काठमाडौं : अभिनेता अनमोल केसी र आँचल शर्मा अभिनित फिल्म ‘जेरी अन टप’को टिजर सार्वजनिक कार्यक्रम सोमबार निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरू भयो।

नेपाली फिल्म उद्योगमा कार्यक्रमहरू केही ढिलो हुनुलाई सामान्य मानिए पनि यति लामो समय ढिलाइले फिल्मकर्मीको व्यावसायिकतामाथि प्रश्न उठेको छ।

दिउँसो साढे १२ बजेका लागि काठमाडौंको सामाखुशीस्थित क्युएफएक्स सिनेमा हलमा कार्यक्रम तय गरिएको थियो। निर्माण पक्षको निम्तोअनुसार अधिकांश पत्रकारहरू निर्धारित समयमै कार्यक्रम स्थलमा पुगेका थिए।

तर, कलाकारहरू अनमोल केसी, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’ लगायत ढिलोगरी उपस्थित भए भने कार्यक्रम साँढे ३ बजेतिर मात्रै सुरू भयो।

लामो समय कुर्नुपर्दा केही पत्रकार कार्यक्रम सुरू नहुँदै बाहिरिएका थिए भने केहीले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखे।

डिसी नेपालका पत्रकार अनिल पोखरेलले सामाजिक सञ्जालमा लेखे, ‘१२:३० मा भनिएको ‘जेरी अन टप’को टिजर रिलिज कार्यक्रममा नायक भनौदाहरू ३ बज्दा सम्म आउँदैनन्। मिडियालाई लामो समय कुराएपछि ठुलै युद्ध जितेजस्तो लाग्छ क्या हो?’

टिजरको फाइल समयमा तयार नहुँदा कार्यक्रम ढिलाइ भएको थियो।

तर, आफ्नो सामग्री समयमा तयार नगरी सञ्चारकर्मीलाई घण्टौसम्म अल्झाउने यस्तो प्रवृत्तिले अन्ततः फिल्मकर्मीलाई नै हानि पुर्याउने र सञ्चारकर्मीको विश्वास गुम्ने अर्का एक पत्रकार बताउँछन्।

भदौ १०, २०८२ मंगलबार १६:१८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।