उखु किसानको आन्दोलनमा शीर्ष नेताहरूको ऐक्यबद्धता, माइतीघर पुगे नेपाल, भट्टराई र श्रेष्ठ
काठमाडौं : सरकारले अनुदान कटौती गर्ने निर्णय गरेपछि काठमाडौंमा आन्दोलनरत उखु किसानहरूलाई शीर्ष राजनीतिक दलका नेताहरूले समर्थन जनाएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माइतीघर मण्डलामा पुगेर किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेसपा अध्यक्ष भट्टराई आन्दोलनरत किसानहरूसँगै सडकमा धर्ना बसेर उनीहरूको मागमा समर्थन जनाए।
यसैगरी, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पनि एक टोलीसहित माइतीघर पुगेका थिए। उनले किसानका जायज मागहरू तत्काल पूरा गर्न सरकारसँग आग्रह गर्दै आन्दोलनप्रति आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताए।
सरकारले विगतमा तोकेको अनुदान रकम भुक्तानी नगरेको र अब अनुदान कटौती गर्ने निर्णयसमेत गरेपछि देशभरका उखु किसानहरू आइतबारदेखि काठमाडौंको माइतीघरमा आएर प्रदर्शन गरिरहेका छन्।
उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
भदौ १०, २०८२ मंगलबार १५:४२:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।