भियतनाममा टाइफुन ‘काजिकी’ कारण मृत्यु हुनेको सङ्ख्या बढ्यो

एजेन्सी : भियतनाममा आएको टाइफुन ‘काजिकी’का कारण मङ्गलबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। आँधीबेहरीका कारण उखेलिएका रूख र खसेका बिजुलीका तारले उद्धारकर्मीको ज्यान गएको छ भने राजधानी हनोईसहितका धेरै क्षेत्रमा बाढी र भीषण हावाहुरीले जनजीवन अस्तव्यस्त बनाएको छ।
सोमबार मध्य भियतनाम प्रवेश गरेको आँधीबेहरी १३० किमी प्रतिघण्टा (८० माइल प्रतिघण्टा) को वेगमा चलेको थियो। यसले हजारौँ घरका छत उडाएको छ र करिब १६ लाख मानिसलाई विद्युतविहीन बनाएको छ। अधिकारीहरूले मङ्गलबारसम्म तीन जनाको मृत्यु र १३ जनाभन्दा बढी घाइते भएको पुष्टि गरेका छन्। साथै आठ प्रान्तमा आकस्मिक बाढी र भूस्खलनको चेतावनी जारी गरिएको छ।
भिन्ह प्रान्तमा सैनिक र उद्धारकर्मीहरूले सडकमा खसेका रूख र भवनका प्यानल हटाइरहेका छन् । ६५ वर्षीय स्थानीय बासिन्दा ट्रान भ्यान हङ भन्छन्, “एउटा भवनको आठौँ तलाबाट ठूलो स्टिलको छत सडकमा खस्यो, तर भाग्यवश कसैलाई केही भएन।”
भियतनाम बर्सेनि टाइफुनको सामना गर्ने देश हो, तर जलवायु परिवर्तनका कारण यस्ता प्रकोप अझ शक्तिशाली र अप्रत्याशित बन्दै गएको विज्ञहरूको चेतावनी छ। भिन्हकी ६० वर्षीया गुयेन थी होआले भनिन्, “हामी वर्षा र बाढीमा बाँच्ने बानी परिसकेका छौँ तर हिजोको हावाहुरीजस्तो विनाशकारी असर पहिले कहिल्यै देखेका थिइनँ।”
भारी वर्षाका कारण पहाडी भेगका २७ गाउँ पूर्ण रूपमा अलगिएका छन् भने ४४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
राजधानी हनोईमा लगातार वर्षाले सडक डुबाएपछि बिहानैदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। ४४ वर्षीया न्गुयेन थु लान भन्छिन्, “घरअगाडिको आँगनसमेत पानीले भरिएको छ, पैदल हिँड्नै असम्भव भयो।” अर्का बासिन्दा ट्रान लु फुकले भने, “कालो पानीमा गाडीहरू अड्किँदा ठूलो जाम भयो, ट्राफिक र बाढी दुवै डरलाग्दो थिए।”
काजिकी पश्चिमतर्फ कमजोर हुँदै लाओस पस्दा त्यहाँ पनि भारी वर्षा भएको छ। लाओस–चीन रेलमार्ग दुई दिनका लागि बन्द भएको छ भने केही सडक विच्छेद भएका छन्।
भियतनामको कृषि मन्त्रालयका अनुसार, यस वर्षका पहिलो सात महिनामै प्राकृतिक प्रकोपका कारण एक सयभन्दा बढी मानिसको मृत्यु वा बेपत्ता हुने घटना भइसकेको छ। गत सेप्टेम्बरमा आएको टाइफुन ‘यागी’ले भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मामा सात सयभन्दा बढीको ज्यान लिएको थियो।
भदौ १०, २०८२ मंगलबार १३:५६:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।