लिपुलेक हुँदै व्यापार गर्ने भारत-चीन सहमतिको ८ दिनपछि बोल्यो रास्वपा

लिपुलेक हुँदै व्यापार गर्ने भारत-चीन सहमतिको ८ दिनपछि बोल्यो रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली भूमि लिपुलेकमा नाका खोल्न भारत र चीनबीच भएको एकतर्फी सहमतिलाई वैध मान्न नसकिने बताएको छ। रास्वपाले लिपुलेक हुँदै व्यापार गर्ने भारत-चीन सहमतिको एक सातापछि मुख खोलेको हो। 

​​​​मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै यस विपरीतका कार्यले आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरीत भएको मानिनेमा रास्वपा स्पष्ट रहेको बताए। नेपालको प्रत्यक्ष सहमति बिना भएका सहमति स्वीकार्न नसकिने रास्वपाको धारणा छ।

विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व मान्दछ। नेपाली भू-भागमाथि अन्य देशहरूको कुनैपनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना वैध मान्न सकिँदैन। यस विपरितका कार्य हुन्छन् भने आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरित भएको मानिनेछ भन्नेमा रास्वपा स्पष्ट छ।’ 

प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न रास्वपाले माग पनि गरेको छ।

साथै हालैको सम्झौतापछि सरकारले प्रस्तुत गरेको रवैयाप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन्। 
साथै,विवादहरूको समाधान सत्तापक्ष र प्रतिपक्ष नभई एकमतले कूटनीतिक, शान्तिपूर्ण तर प्रभावकारी माध्यमबाट खोजिनुपर्छ भन्ने अटल सिद्धान्तमा पार्टी प्रतिबद्ध रहेको जनाएका छन्।

भदौ १०, २०८२ मंगलबार १२:२४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।