डिजिटल कारोबारमा निरन्तर वृद्धि, मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७७ लाख नाघे

काठमाडौं : नेपालमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र गतिमा बढिरहेको नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकले देखाएको छ।
२०८२ साल असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७७ लाख १४ हजार २८८ पुगेको छ। गत वर्षको सोही महिनामा यो संख्या २ करोड १३ लाख ३९ हजारमा सीमित थियो।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असार मसान्तसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि २७ लाख ४२ हजार पुगेका छन्।
२०७९ असारमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमार्फत २,९८३ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा २०८२ असारमा ९,२१० अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कनेक्ट आइपिएस मार्फत कारोबार हुने रकम ३२८ अर्ब रुपैयाँबाट बढेर ४८६ अर्ब रुपैयाँ पुगेको छ।
२०८२ असारसम्म डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख ६५ हजार नाघेको छ भने क्रेडिट कार्ड प्रयोगकर्ता ३ लाख १८ हजार पुगेका छन्।
डेबिट कार्डमार्फत असार महिनामा ८२ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। क्रेडिट कार्ड प्रयोगमार्फत झण्डै ९ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको तथ्यांकमा उल्लेख छ।
ई-कमर्स प्रयोगबाट २०८२ असारमा ४ खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यो एक वर्षअघिको तुलनामा करिब दोब्बर हो।
क्युआरमा आधारित भुक्तानी पनि तीव्र गतिमा बढिरहेको छ। असार मसान्तसम्म क्युआर प्रयोगमार्फत १ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ।
भदौ १०, २०८२ मंगलबार ११:११:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।