अष्ट्रेलियामा जारी अभ्यास खेलमा नेपालको जीत, सन्दीपले लिए पाँच विकेट

काठमाडौं : नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई अभ्यास खेलमा ४१ रनले हराएको छ।
१ सय ७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमै अलआउट हुँदै १ सय ३६ रनमा सीमित भयो। नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३१ रन खर्चेर ५ विकेट झारे भने करण केसीले २ तथा रुपेश सिंह, गुलशन झा र कुशल भुर्तेलले १–१ विकेट लिए। एसीटीका जे. स्मिथले ५० रन बनाए तर उनलाई रुपेशले पाभेलियन फर्काए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको धमाकेदार अर्धशतकसहित ८ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो। आसिफले ३९ बलमा ५ छक्का र ४ चौकासहित ६९ रन बनाए।
कप्तान रोहित पौडेलले २८ बलमा ३६ रन जोडे भने आरिफ शेखले २४, दीपेन्द्र सिंह ऐरीले २१ र गुलशन झाले ८ रन बनाए। अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन्।
एसीटीका इभान, रहमान, दुबे र ब्रुनकरले समान २–२ विकेट लिए।
भदौ १०, २०८२ मंगलबार १०:१०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।