तीज व्रत, संयम र आत्म-अनुशासनसँग गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री ओली

तीज व्रत, संयम र आत्म-अनुशासनसँग गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा शुभकामना दिँदै यस पर्व व्रत, संयम र आत्मअनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन्।

तीज २०८२ का अवसरमा उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै शील, सौजन्य र उदारताको यो पर्वले सबैको परिवारमा आत्मीयता, दाम्पत्य जीवनमा उल्लास र समाजमा सौहार्द फैलाओस् भन्ने कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको भए पनि यसको मूल सार व्रत र संयममा रहेको उल्लेख गरे। उनका अनुसार प्राचीनकालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको देखिन्छ, तर समयक्रममा महिलामात्र व्रत बस्ने परम्परा विकास भयो। अहिले भने यसबारे नयाँ–नयाँ दृष्टिकोण पनि आउन थालेका छन्।

“हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ। पछिल्ला वर्षमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्याउँछ भन्ने तथ्य पुष्टि गरेको छ,” प्रधानमन्त्री ओलीले भनेका छन्।

आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दू महिलाहरूले भगवान् महादेवको पूजा–आराधना गर्दै तीज मनाइरहेका छन्। शिवपूजा, व्रत, गीत–नृत्य र पारिवारिक जमघटसहितको तीजलाई नेपाली हिन्दू महिलाहरूको महान् पर्वका रूपमा मनाइने परम्परा छ।

भदौ १०, २०८२ मंगलबार ०९:०७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।