
मौसमअनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थाङ्गी छ्यो पोखरी’

ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ यासा (लोदेन) मा अवस्थित ‘छ्यो थाङ्गी छ्यो पोखरी’ पछिल्ला दिनमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ।
समुद्र सतहदेखि करिब ४,४०० मिटर उचाइमा रहेको यो पोखरीको विशेषता भनेको मौसमअनुसार रङ्ग परिवर्तन गर्नु हो। कहिले आकाशजस्तै नीलो त कहिले रातो देखिने यो पोखरीको अनौठो रूपले पर्यटकलाई लोभ्याउने गरेको छ।
स्थानीय पान्दे शेर्पाका अनुसार हाल यो क्षेत्रलाई ‘पूर्वको मुस्ताङ’ भनेर समेत चिनिन थालिएको छ। सेवा–सुविधा खासै नहुँदा पनि प्राकृतिक सुन्दरताको लोभमा पर्यटक आउने क्रम बढिरहेको उनले बताए। तर व्यवस्थित होमस्टे र पूर्वाधार विस्तार भए अझै धेरै पर्यटक आकर्षित हुने उनको भनाइ छ।
थोक्प्या समुदायले प्रयोग गर्ने स्थानीय भाषामा ‘छ्यो’ को अर्थ पोखरी र ‘थाङ्गी’ को अर्थ टार हुने भएकाले ‘छ्यो थाङ्गी छ्यो’ भन्नाले ‘पोखरी भएको टार’ भन्ने बुझिन्छ। तर पछिल्लो समय मौलिक नाम बिर्सिँदै अरू नामबाट प्रचार भइरहेका पोखरीलाई आफ्नै मौलिक नाममै चिनाउने प्रयास गर्नुपर्ने स्थानीयको धारणा छ।
यो क्षेत्रमा घुम्न आउने पर्यटकले पोखरीसँगै वरिपरिका हिमाल, हरियाली र जडीबुटीको समृद्धि पनि अवलोकन गर्न सक्छन्। फुङ्लिङबाट सिम्बुकसम्म सवारीसाधन पुग्छ भने त्यहाँबाट छिटो हिँड्नेले एक दिनमा र विस्तारै हिँड्नेले दुई दिनमा लोदेन पुग्न सक्छ। लोदेन हुँदै तोक्पेगोला जान चाहनेहरूलाई भने ५,५०० मिटर उचाइको पास पार गर्नुपर्ने भएकाले कठिनाइ हुने गर्छ। बाटो निर्माण नभएकाले स्थानीयको सहयोग अनिवार्य हुन्छ र चिप्लो हिमालका कारण जोखिम पनि रहन्छ।
मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष ग्यान्जे शेर्पाका अनुसार यस क्षेत्रमा करिब एक सयवटा पोखरी छन् तर अझै वैज्ञानिक अध्ययन भएको छैन। गाउँपालिकाले आगामी दिनमा पोखरीहरूको गहिराइ, लम्बाइ, चौडाइ र जीपीएस मापन गर्न विज्ञ टोलीमार्फत अनुसन्धान गर्ने योजना बनाएको छ।
गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पाले अहिलेसम्म संरक्षणको खास पहल नभए पनि मानवीय क्षति नपुग्दा पोखरीहरू स्वाभाविक रूपमा सुरक्षित रहेको बताए। उनका अनुसार पदमार्ग निर्माण, पाटीपौवा र होमस्टे विकास गर्न पालिकाले चालु आर्थिक वर्षमै बजेट विनियोजन गरेको छ। लोदेन क्षेत्रको पोखरी र तालको प्रचारप्रसार गर्न भिडियो सम्मेलनसमेत आयोजना गरिने उनले जानकारी दिए।
भदौ १०, २०८२ मंगलबार ०८:५३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।