भक्तजनलाई सहज बनाउन पशुपतिनाथ मूल मन्दिरका चारवटै ढोका खुला, छैन विशेष पासको व्यवस्था

भक्तजनलाई सहज बनाउन पशुपतिनाथ मूल मन्दिरका चारवटै ढोका खुला, छैन विशेष पासको व्यवस्था

काठमाडौं : हरितालिका तीजमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनलाई सहज बनाउन मूल मन्दिरका चारवटै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीका अनुसार भक्तजन, विशेषगरी महिलालाई भीडमै सहज दर्शनको सुविधा दिन यस वर्षदेखि विशेष व्यवस्था मिलाइएको छ।

तीजका दिन बिहानैदेखि भक्तजनको भीड हुने भएकाले सुरक्षादेखि स्वयंसेवा, चन्दनप्रसाद वितरण, दर्शनमार्ग सुधार, जुत्ता–चप्पल राख्ने स्थान, आकस्मिक स्वास्थ्य सुविधा, गीत–भजन, दीपावली र गौदान गर्ने स्थानसम्मको व्यवस्था भएको कोषले जनाएको छ। 

भक्तजनलाई लाममा व्यवस्थित पार्न पशुपति क्षेत्रको बाहिरी भागमा चारवटा प्रवेशमार्ग तोकिएका छन्। गौरीघाट, मित्रपार्क, पिङ्गलास्थान र तिलगङ्गाबाट सुरु हुने यी लामहरूबाट भक्तजनलाई क्रमशः उत्तर, पश्चिम, दक्षिण र पूर्व ढोकाबाट मन्दिर प्राङ्गणमा प्रवेश गराइएको छ। मूल मन्दिरभित्र भने आठवटा लामको व्यवस्था मिलाइएको छ।

श्रीयन्त्र पूजाको समयमा भक्तजनले बाहिरबाटै दर्शन गर्न सकून् भन्ने उद्देश्यले मन्दिर वरिपरि विशेष जाली राखिएको छ। दर्शनपछि भक्तजनले सहज रूपमा चन्दनप्रसाद पाउन सकून् भन्ने हेतुले गौशाला, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा वनकाली, जयवागेश्वरी लगायतका स्थानमा वितरण केन्द्रहरू बनाइएको छ।

तेस्रो मुलुकका पर्यटकलाई प्रवेश शुल्क तिरेर मेला क्षेत्रमा अवलोकन भ्रमण गर्न दिइने व्यवस्था गरिएको छ, तर उनीहरूलाई मूल मन्दिर प्राङ्गणमा जान अनुमति दिइने छैन। भक्तजनलाई बहुमूल्य गरगहना नलगाई बालबालिकालाई साथमा नल्याउन कोषले अनुरोध गरेको छ।

यसपालि मन्दिर दर्शनका लागि कुनै विशेष पासको व्यवस्था नगरिएको कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए।

भदौ १०, २०८२ मंगलबार ०७:४७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।