तीनदिने औपचारिक भ्रमण सकेर मध्यरातमा स्वदेश फर्किइन् भियतनामकी उपराष्ट्रपति सुआन

तीनदिने औपचारिक भ्रमण सकेर मध्यरातमा स्वदेश फर्किइन् भियतनामकी उपराष्ट्रपति सुआन

काठमाडौं : समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज मध्यरातमा स्वदेश फर्किएकी छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी थिइन्।
 
उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिदाइ गरे।
 
उनको बिदाइमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थियो।
 
भदौ ७ गते नेपाल भ्रमणमा आएकी उपराष्ट्रपतिले सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गरिन। यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पनि उपराष्ट्रपति सुआनले भेटवार्ता गरिन्। 
 
भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यसवर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।  

भदौ १०, २०८२ मंगलबार ०७:३१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।