
माग्ने राजा : साढे दुई घण्टा ‘हल्का रमाइलो’को यातना

अचारको विशेषता भनेको थोरै तर नुन, अमिलो,पिरो मिलेको ट्वाक्क स्वादवाला हो नि। तर ट्वाक्कवाला अचार भन्दैमा अपवादको अवस्था बाहेक खाना नै त्यसैसँग मात्र मुछेर खान त सकिन्न। अचार जति नै ट्वाक्क भए पनि खानालाई स्वादिलो बनाउन दाल, तरकारी लगायतका सामग्री चाहिन्छ नै।
फिल्म ‘माग्ने राजा’ लाई खानाका यी नै सामग्रीसँग मिसाएर हेर्ने हो भने निर्देशक ऋषि लामिछानेले अचार मिठो हुन्छ भनेर खानै त्यसैसँग मात्र मुछेर दर्शकलाई जवर्जस्ती खुवाए समान देखिन्छ। त्यसैले त यो फिल्म अभिनेता केदार घिमिरेको चर्चित थेगो जस्तै हल्का रमाइलोमै खुम्चिएको छ।
फिल्म लेखनदेखि निर्देशनसम्म अनुभवी टिम देखिन्छ। तर फिल्मको समग्र संरचना हेर्ने हो भने फिल्मको मूल संरचनामै समस्या देखिन्छ।
पहिला कथासार तर्फै लागौँ
हजुरबुबादेखिको ऋण खप्टिएर हैरान नाति कुबेर शर्मा (केदारप्रसाद घिमिरे) को काँधमा सबै ऋण तिर्ने जिम्मेवारी आइपुग्छ। तर आर्थिक स्रोतको अभाव गाउँभरिका साहुबाट लुक्न दिनहुँ भाग्नुको विकल्प हुन्न।
घरमा बस्नै नसक्ने, कहिले जङ्गल जाने त कहिले कता पुग्ने। पैसा लिन घर आउने साहुहरूबाट भाग्दैमा पहिलो हाफ सकिन्छ। अति भएपछि लुक्न जब खाल्डो खन्छन् अनि खजाना फेला पार्छन्। त्यसपछि उसको आर्थिक हैसियत बदलिन्छ।
त्यही खजाना बेच्न कुबेर काठमाडौँ आएर मितभान्जा विल्सन विक्रम राईसँग भेट्छन्। धन पाएसँगै कुबेरको दैनिकी नै बदलिन्छ। काठमाडौँमा घरदेखि हेलिकप्टरसम्मको धनी हुन पुग्छन्।
स्रोत नखुलेको पैसा लुकाउन सहकारीमा राख्छन्। मितभाञ्जाको मनमा पाप पलाउँछ। कान्तिपुरका मेयर धनबहादुर हाङदाम (शिशिर वाङ्देल) पनि कुवेरको धनसँग लोभिन्छन्। एकाएक कुबेर विरुद्ध सम्पत्ति शुद्धीकरणको उजुरी समेत पर्छ।
गाउँबाट एउटा सङ्कट पार लगाउन शहर आएका कुवेर यता शहरमा पनि उसैगरी समस्यामा घेरिन्छन्। जसरी खाल्डो खन्दा भेटिएको खजानाले उनको आर्थिक सङ्कट टार्यो त्यही खजानाले दिलाएको धनले निम्त्याएको सङ्कट पार लगाउन उनले के के गर्छन्?
कुबेर उही पुरानै पाराको ऋण तिर्न भाग्दै हिँड्ने हैसियतमा झर्छ या सम्पन्न कुबेरै रहन्छन् ? फिल्म यसै वरपर घुमेको छ।
सबल पक्ष
फिल्मलाई पूर्ण रूपमा हाँस्यप्रधान बनाउन निर्देशकले गर्नुसम्म मिहेनत गरेका छन्। कलाकारको भिड जम्मा पारेका मात्रै छैनन् आफैँ पनि टुच्च देखिएका छन् फिल्ममा।
केहीबाहेक फिल्मका पञ्चलाइनहरु प्रभावशाली छन्। दर्शक हाँस्न सक्छन्। अभिनयतर्फ केदार घिमिरेले फिल्ममा अभिनयको जिम्मेवारी एक्लै बोकेर दौडिएका छन्।
कमेडीसँगै निर्देशकले फिल्मलाई रोचक बनाउन सस्पेन्स पनि मिसाएका छन्। सङ्गीत पक्षले फिल्मलाई बलियो नै बनाएको छ। विशेष गरी ‘पैसा’ बोलको गीत रमाइलो सुनिन्छ हलमा।
वर्षा सिवाकोटीको अभिनय अन्य फिल्ममा भन्दा फरक देखिन्छ। उनी पात्रमा डुबेकी छिन्। तर फिल्म हेर्दै गर्दा उनको चरित्रलाई अझ फराकिलो बनाउने स्थान टन्नै देखिन्छ।
शिशिर वाङ्देलको अभिनय बलियो छ। कमिक रोलमा पनि उनले आफ्नो प्रभाव छाड्न सफल भएका छन्। विल्सन विक्रमको अभिनयमा खासै फरकपन देखिँदैन। माग्नेसँग मेरिबास्सैमा जमेको तक्मे बुढा जत्तिको संयोजन भने देखिँदैन दुवैको पात्रमा।
आर्यन सिग्देल फिल्ममा किन छन् ? फिल्म हेरेपछि निर्देशक अनि आर्यन आफैँलाई सोधे भने पनि उत्तर पाउन सकसै होला। सहायक कलाकारहरूले पनि सक्दो प्रयास गरेका छन्।
दुर्बल पक्ष
लेखनदेखि निर्माणसम्म फिल्मसम्बन्धी जानकारहरू मिलेर बनाएकाले माग्ने राजाको दुर्लभ पक्षमा प्रवेश गर्दा फिल्मको सैद्धान्तिक पक्ष नछुटाउनु नै उत्तम देखियो। त्यसैले कमेडी फिल्म निर्माणका सूत्रहरूसँग जोड्दै यसको कमजोर पक्ष केलाउने प्रयास गरेको छु।
फिल्म निर्माण गर्दा सबैभन्दा धेरै प्रयोग हुने संरचना थ्री एक्ट नै हो। पहिलो कथा, परिवेश र पात्रको सेटअप मानिन्छ। यसमा मुख्य पात्रको परिचय र उसको सामान्य जीवन, समस्या वा चुनौतीको उत्पत्ति, हास्यास्पद स्थितिको सुरुवात र कथाको टोन र शैली स्थापना गरिन्छ।
यो कोणमा फिल्मका मुख्य पात्र कुबेर (केदार घिमिरे) लाई हजुरबादेखिको ऋणको भारी बोकेको गाउँको पात्रको रूपमा प्रस्तुत गरिएको छ। उनी साहुहरूसँग भाग्दैमा हैरान छन्। गाउँमा हराएका बाबुको प्रतीक्षामा रहेकी आमासँगै बस्छन्। जीवनयापन सामान्य छ।
दोस्रो हो द्वन्द्व निर्माण। समस्याहरूको जटिलता बढ्दै जाने, पात्रहरूको बिचमा द्वन्द्व र मतभेदमा हास्यास्पद परिस्थितिको निर्माण र फिल्मलाई क्लाइमेक्सतिर लैजाने प्रयास हुन्छ यो चरणमा।
फिल्म माग्ने राजाको कथा संरचना र पात्रहरूको निर्माणको दृष्टिमा उसले ऋण तिर्न नसक्दाको परिस्थिति मात्रै जटिल हैन जब उसले एकाएक खजाना फेला पारेर अस्वाभाविक धन पाउँछ त्यसपछि धनको व्यवस्थापनलाई समेत मूल समस्याको रूपमा देखाउने प्रयास गरिएको छ। मूल समस्या पात्र गरिब हुनु हो कि धनी हुनु हो? पुरै कन्फ्युजन छन् लेखक अनि निर्देशक।
मितभाञ्जा विल्सनविक्रम राई पहिला सहयोगीको रूपमा देखाएर पछि धनप्रति लोभिएको देखाउनु, मेयर धनबहादुर उर्फ शिशिर वाङदेलसँगको सम्बन्ध अनि सम्पत्ति शुद्धीकरणको उजुरीले फिल्ममा द्वन्द्वको निर्माणको प्रयास गरिएको छ। तर प्रभावकारी छैन।
श्री बनेकी अभिनेत्री वर्षा सिवाकोटीसँगको कुबेरको सम्बन्ध बनाउँदै क्लाइमेक्सको निर्माणको प्रयास भएको छ। तर विश्वसनीय छैन।
तेस्रोमा समस्याको समाधान, पात्रहरूको विकास र परिवर्तन र सन्तोषजनक अन्त्यलाई थ्री एक्ट विधामा महत्त्वपूर्ण मानिन्छ।
यसमा समस्याको समाधान व्यवहारिक भन्दा पनि सन्देश प्रधान बनाएका छन् निर्देशकले। यसको प्रयोगै गर्न हुन्न भन्ने हैन। तर ९९ प्रतिशत दृश्य पुरै हावा पाराको कमेडीमा केन्द्रित गरेर अन्तिममा जनहितका लागि जारी सन्देश पाराको सन्देशको के अर्थ। सन्देशवाहक फिल्म निर्माण गर्ने हो भने त प्रारम्भदेखि नै मूल सन्देशको संरचना निर्माण गर्दै कथा अगाडि बढ्नुपर्ने हैन र !
प्रारम्भमा जुन रूपमा पात्रहरूको निर्माण गरिएको छ कुबेर उर्फ केदार घिमिरे बाहेक अन्य पात्रहरूको चरित्र विकासै हुन्न। ती फिल्ममा किन छन्, उनीहरूले के गरे अनि कता हराए भन्ने नै खुल्दैन।
उनीहरूको योगदान भनेको फिल्मको कथामा मूल पात्र कुबेरलाई हँसाउने टाइमिङ र परिस्थिति मिलाउने बाहेक ती पात्रको कथा र परिस्थितिको विकासमा केही योगदान देखिँदैन।
वर्षाको चरित्रको उद्देश्य अन्तमा दर्शकलाई छक्क पार्ने प्रयास भन्दा अलग देखिन्न। उनको चरित्रलाई थप परिष्कृत गर्ने स्थान टन्न देखिन्छ फिल्ममा। तर त्यतातिर निर्देशकको ध्यान गएको देखिँदैन। फिल्ममा न विल्सन चरित्रको अर्थ देखिएको छ न त शिशिर वाङदेलको नै चरित्रको विकास परिपक्व छ।
क्लाइमेक्सका लागि जस्तो परिस्थितिको निर्माण गर्दै कथा अगाडि बढेको छ अन्त्य अपेक्षित छैन। अपेक्षित नभए पनि सुपर सरप्राइज पनि हैन।
कमेडी टाइमिङका आधारमा हेर्दा लगभग टिजर र टेलरमा देखिएको भन्दा थप प्रभावकारी संवाद र पञ्चलाइन भेटिँदैन। माग्नेको टोन मेरीबास्सैमा जे थियो ‘माग्ने राजा’मा पनि उही छ। त्यसलाई परिष्कार गर्न न निर्देशकले मिहिनेत गरेका छन् न कलाकारले नै प्रयास गरेका छन्। परिस्थितिको निर्माण गरेर भन्दा पनि संवाद र उही परम्परागत शैलीबाटै दर्शक हँसाउने प्रयास भएको छ।
एक्सन स्टार पात्रहरूसँगको भिडन्त र माग्नेको पारिवारिक परिचयको संवादलाई नौलो रूपमा प्रस्तुत गर्ने प्रयास गरे पनि ती अर्ग्यानिक हैनन्। हलिउड र बलिउडका हाँस्यप्रधान फिल्मबाट तानतुन गरेर नेपाली लेपन लगाइएको मात्र हो।
कमेडी फिल्ममा आवश्यक पर्ने जोकको सेटअप र पेअफबीच सही दूरी नै पाइँदैन। संवादको गति र लय मनोटोनस गराउने एकै खालको छ। यसको कारण फिल्मभरि माग्नेको चरित्र हाबी हुनु हो।
शारीरिक कमेडीको समय व्यवस्थापन निकै फितलो छ। कमेडी फिल्ममा मौनताको समेत प्रभावकारी उपयोग भएको हुन्छ। यसमा कुनै पनि पात्रमा यसको अंश भेट्न पनि मुस्किल पर्छ।
पात्र निर्माणमा मुख्य पात्र स्पष्ट कमजोरी वा विशेषता, दर्शकसँग भावनात्मक सम्बन्ध जोडिन सक्ने, परिवर्तनको क्षमता र अनौठो तर विश्वसनीय व्यक्तित्व निर्माण भएको हुन्छ। फिल्म माग्ने राजामा कुबेर बनेका केदारको चरित्रमा परिवर्तनको क्षमता देखिन्छ। त्यो बाहेकको अन्य पक्ष निकै फितलो छ।
मुख्य पात्रको कमजोरी उजागर गर्ने, कथामा नयाँ द्वन्द्व ल्याउने, हास्यको विविध आयाम दिने र कथालाई अघि बढाउने सहायक पात्रहरूको जिम्मेवारी हुन्छ।
कमेडी अवस्थाको निर्माण र द्वन्द्व निर्माणमा विल्सन र शिशिरले केही प्रयास गरेका छन्। तर उनीहरूको चरित्र निर्माणको कमजोरीको कारण उनीहरूको प्रयास अपूर्ण र निकै कमजोर देखिन्छ।
फिल्ममा पात्र अनुसार अनौठो हाउभाउ र चालचलन, अप्रत्याशित प्रतिक्रिया, शारीरिक कमेडीको उपयोग लगायतका शारीरिक हाउभाउबाट हँसाउने र संवादको शैली, शब्द प्रयोगको शैली र व्यङ्ग्यबाट भाषिक हास्यको निर्माण गरिन्छ।
फिल्म माग्ने राजामा केदारमार्फत संवाद शैली र लवजमा प्रयोग भएको छ। अन्य चरित्रमा निकै कमजोर प्रयास छ। यसले साढे दुई घण्टासम्म एकै शैलीको कमेडीले दर्शकको दिमाग तताउन सक्छ।
उदाहरण भारतीय फिल्म ‘रन’मा हास्य कलाकार विजय राज सहायक भूमिकामा छन्। त्यसमा उनले निभाएको बिर्यानीको प्लटमा मिसाइएको कौवा बिर्यानीको प्रसङ्ग अहिलेसम्म पनि उत्तिकै लोकप्रिय छ। जति पटक हेर्दा पनि हाँसो फुत्किहाल्छ।
बरु दर्शकले फिल्मको नाम बिर्सिन सक्छन् तर कौवा बिर्यानी प्रसङ्ग बिर्सन सक्दैनन्। यस्तो दृश्यको निर्माणका लागि हाँस्यचेतबारे जानकार लेखक र निर्देशक आवश्यक पर्छ। फिल्म ‘माग्ने राजा’को लेखक र निर्देशक दुबैमा त्यो क्षमता देखिएन।
पात्रको चरित्रमा देखिने द्वन्द्वको केही झलक माग्नेमा देखिन्छ। तर अन्य पात्रहरू सपाट छन् रोबोटजस्ता। बरु रोबोट प्रतिक्रियात्मक भइसके। माग्ने राजाका पात्रहरूमा त्यति विकास पनि देखिन्न।
मुख्य कथालाई बलियो बनाउन प्रयोग गरिने साना कथाहरूको अभाव छ फिल्ममा। मुख्य विषय आर्थिक अभावमा पिल्सिएको एक युवाको संघर्ष हो कि फोकटको धनको पछि लाग्नु व्यर्थ हो ? प्रस्ट छैन।
साढे दुई घण्टा लामो फिल्ममा मुख्य कलाकार माग्नेले ९० प्रतिशत बढी स्क्रिन टाइम पाउनु नै सहायक कलाकारहरूको चरित्रको विकासमा निर्देशकले गरेको लापरबाही हो।
फिल्मको पहिलो हाफमा मुख्य कलाकार ऋण दिएको पैसा माग्न आउनेहरूसँग जोगिन भागेको भाग्यै गर्छ। सम्पन्न भएपछि दोस्रो हाफमा मुख्य पात्रको दैनिक बिहान उठ्ने, उटपट्याङ संवादमा रल्लिने, बेलुका क्लब जाने, बेलुका केटी लिएर घर फर्किने र मस्ती गर्ने हुन्छ।
फिल्मको कथा यहाँ पुगेर पुरै पज हुन्छ। न पात्रको गहिराइ देखाइएको छ न त हास्यका नयाँ अवसर नै सिर्जना भएका छन्। यसले निर्देशकले कथाको गति समेत नियन्त्रण गर्न सकेको देखिएन।
कथाको सुरुवात, पात्रको सामान्य जीवनमा आउने बाधा, हास्यास्पद यात्राको प्रारम्भ, कथाको दिशा परिवर्तन गर्ने घटना, नयाँ चुनौती र अवसर अनि पात्रको निर्णयका महत्त्वपूर्ण क्षणहरू फिल्ममा प्रस्ट समेटिएकै छैन।
स्वाट्ट फरक दृश्य देखाउनु मात्र सस्पेन्स हैन। दर्शकलाई के हुन सक्छ भनेर फिल्मभर सोचिरहने बनाउनु सफल सस्पेन्स हो। यसमा पनि सस्पेन्सको प्रयोग भएको छ तर झ्वाट्ट आउँछ। दर्शक ए भन्छन् अनि सक्कियो। फिस्स पाराको सस्पेन्स। यसका लागि अब के होला भनेर दर्शकले सोच्न दिमाग खर्च गर्नु पर्दैन।
फिल्मले दर्शकको मनमा अपेक्षाको निर्माण नै गर्न सकेको छैन। गरिबहुँदा यो पात्र धनी भइदिए हुने भन्ने अपेक्षाको निर्माण हुन्न। धनी भएर लथालिङ्ग दैनिकी हुँदा पैसा सही काममा लगाए हुने भन्ने अपेक्षा निर्माण हुन्न।
भिज्युअल स्टोरीटेलिङका लागि भने केही हदसम्म मिहेनत भएको देखिन्छ फिल्ममा। यसमा पनि सबैभन्दा धेरै मिहेनत माग्नेमै लागेको छ। सहायक कलाकारहरूमा त्यो तहको मिहिनेत देखिन्न। हाउभाउ र शारीरिक भाषा पनि मुख्य पात्र केन्द्रित मात्र छ। वातावरण र परिवेशको निर्माण पनि एकलकाँटे छ।
जुन फिल्मले भावनात्मक सम्बन्ध निर्माण गर्न सक्छ, पात्रहरूको अवस्था देखेर मनमा जब सहानुभूतिको भाव जन्मन्छ त्यो नै सफल फिल्म मानिन्छ। ‘माग्ने राजा’ले न दर्शकसँग भावनात्मक सम्बन्ध बनाउन सफल भएको छ न त सहानुभूति नै जगाउन सफल भएको छ। यो कोणबाट हेर्दा यो फिल्म हास्य विधाको कमजोर फिल्म बनेको छ।
भदौ १०, २०८२ मंगलबार ००:२६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।