उत्तरकाशी पहिरोमा ज्यान गुमाएका आफन्तको गुनासो- ‘सास आएन, शव समेत पाएनौँ’

उत्तरकाशी पहिरोमा ज्यान गुमाएका आफन्तको गुनासो- ‘सास आएन, शव समेत पाएनौँ’

सुर्खेत : यही साउन २० गते जाजरकोटको कुशे गाउँपालिका-२ टालेगाउँका ३५ वर्षीय निमबहादुर सिंह भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीमा थिए। ठेकेदारसँग कामको हिसाबकिताब गर्न उनी नजिकैको धराली बजार पुगेका बेला दिउँसो करिब साढे १ बजे पहिरो खस्यो।

मिनेटभरमै धराली बजारलाई तहसनहस पारेको त्यही पहिरोमा निमबहादुर बेपत्ता भए। त्यस पहिरोमा परेर धेरैले ज्यान गुमाए, जसमध्ये नेपालीहरू पनि थिए।

श्रीमान् पहिरोमा परेको खबर नजिकै काम गरिरहेकी उनकी श्रीमती ३५ वर्षीया राधिका सिंहले आधा घण्टापछि मात्रै पाइन्। खबर सुन्नासाथ उनी बेहोस भइन्। स्थानीयको सहयोगमा उक्त खबर जाजरकोटस्थित परिवारसम्म पुग्यो।

वीरेन्द्रनगरमा बसेर पढिरहेका तीन छोरी र एक छोराको उज्ज्वल भविष्य बनाउने सपना बोकेर सिंह दम्पती २०८१ वैशाखमा उत्तरकाशी पुगेका थिए। तर, धराली बजारको पहिरोले निमबहादुरको सपना क्षणभरमै बगायो। राधिकाले श्रीमान् गुमाइन्, छोराछोरीले बुवा गुमाए भने उनका आमाबुवाले साइँलो छोरा गुमाए।

‘श्रीमान् कामको हिसाब गर्न बजार जानुभएको थियो। आधा घण्टा नबित्दै बजार पहिरोले पुर्यो भन्ने खबर आयो,’ आँसु झार्दै राधिकाले भनिन्, ‘त्यसपछि म त बेहोस नै भएछु। श्रीमानको न सास पायौं, न त शव नै।’

श्रीमान् बेपत्ता भएको खबर पाएको दुई दिनमै निमबहादुरका माइला दाइ नरेन्द्रबहादुर सिंह भारतको उत्तरकाशी पुगे।

नेपाल प्रहरीका वरिष्ठ हवल्दारसमेत रहेका नरेन्द्रले उद्धारकर्मीले केही भारतीय र नेपालीको शव निकालेको देखे, तर भाइ निमबहादुरको शव भेटिएन। निमबहादुर मात्र होइन, उनीसँगै रहेका आफन्तहरू रामबहादुर सिंह, मानबहादुर सिंह र रविन्द्र सिंहको पनि शव फेला परेन।

नरेन्द्रले त्यहाँको प्रहरी-प्रशासनलाई सम्भावित ठाउँमा डोजर लगाउन बारम्बार अनुरोध गरे, तर कसैले सुनेन।

‘भाइको शव नभेटिएसम्म कुनै राहत वा क्षतिपूर्ति लिन्नँ’ भन्दा पनि स्थानीय प्रशासनले बेवास्ता गर्यो।

उल्टै, २५-३० दिनमा मृत घोषणा गरिने र त्यसपछि दिइएको राहत लिएर वा मृत्युको प्रमाणपत्र बोकेर नेपाल फर्कन दबाब दियो। पटक-पटकको अनुनय-विनय खेर गएपछि उनी भाउजु राधिकालाई लिएर नेपाल फर्किए।

सरकारको पहलमा शव आउँछ कि भन्ने आशमा परिवारले १७ दिनसम्म दाहसंस्कारसमेत गरेन। तर, शव खोजीको कुनै पहल नभएपछि शनिबार कुशको शव बनाएर अन्तिम संस्कार गरियो।

‘ऊ हामी चार भाइमध्ये साइँलो थियो। उसले छोराछोरीलाई सहरमा राखेर पढाउन र भविष्य बनाउन चाहेको थियो। घरको मुख्य खम्बा नै ढलेपछि बच्चाहरूको भविष्य अन्धकार भयो,’ नरेन्द्रबहादुरले भने, ‘मैले त्यहाँका प्रहरी र प्रशासनलाई धेरै पटक सम्भावित ठाउँमा डोजर चलाउन अनुरोध गरेँ, तर कसैले सुनेन। बरु उल्टै २५-३० दिनमै मृत घोषणा गर्छौं, प्रमाणपत्र बोकेर नेपाल फर्कनु भन्ने धम्की पाएँ।’

उनले बालबालिकाको पालनपोषणका लागि सरकारी तथा गैरसरकारी निकायसँग सहयोगको अपिल गरेका छन्।

घटनापछि नेपाल सरकारले दूतावासमार्फत जानकारी लिए पनि सक्रियतापूर्वक खोजी र उद्धारमा पहल नगरेको भन्दै पीडित परिवारले गुनासो पोखेको छ।

भदौ ९, २०८२ सोमबार १८:४९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।