पशुपतिमा तीजको तयारी पूरा : दर्शनका लागि चार मार्ग निर्धारण, बिहान तीन बजेदेखि नै ढोका खुल्ने

पशुपतिमा तीजको तयारी पूरा : दर्शनका लागि चार मार्ग निर्धारण, बिहान तीन बजेदेखि नै ढोका खुल्ने
फाइल तस्बिर

काठमाडौं : हरितालिका (तीज) पर्वका लागि पशुपतिनाथ मन्दिरमा सम्पूर्ण तयारी पूरा भएको छ।

पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सहजताका लागि बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोल्ने र चारवटा छुट्टाछुट्टै प्रवेश मार्गको व्यवस्था गरेको जनाएको छ।

कोषका अनुसार, मन्दिरभित्र आठवटा लाम बनाएर छिटो दर्शन गरी फर्कन सक्ने व्यवस्था मिलाइएको छ।

भक्तजनको सुविधालाई ध्यानमा राख्दै सुरक्षा, आकस्मिक स्वास्थ्य सेवा, स्वयंसेवक परिचालन र सरसफाइको चुस्त व्यवस्था गरिएको छ।

काेषले गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश, मित्रपार्क-जयवागेश्वरी-भूवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश,पिङ्गलास्थान-चार शिवालय-पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेश र तिलगङ्गा-राम मन्दिर हुँदै आर्यघाट नजिकको पुल तरेर पूर्वी ढोकाबाट मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ।

कोषले भक्तजनलाई बहुमूल्य गरगहना नलगाउन र साना बालबालिकालाई साथमा नल्याउन विशेष अनुरोध गरेको छ। दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बताए।

सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरिएको छ भने सादा पोसाकका प्रहरी पनि परिचालन गरिनेछ। पाकेटमारी जस्ता अवाञ्छित गतिविधि रोक्न शंकास्पद व्यक्तिलाई पहिले नै नियन्त्रणमा लिइने कोषले जनाएको छ।

दर्शनपछि फर्कंदा भक्तजनका लागि उमाकुण्ड, पञ्चदेवल, तिलगङ्गा, जयवागेश्वरी लगायतका विभिन्न स्थानबाट चन्दन वितरण गरिनेछ।

गौदान जस्ता धार्मिक कार्यका लागि भकुण्डोल-वनकाली मार्गको दायाँबायाँ क्षेत्र तोकिएको छ। नित्य दर्शनार्थीहरूले भने बिहान ५:३० बजेसम्ममा कुनै पनि ढोकाबाट प्रवेश गरी दर्शन गर्न सक्नेछन्।

भदौ ९, २०८२ सोमबार १८:२०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।