स्वास्थ्य मन्त्री पौडेलले उद्घाटन गरेको स्वर्णप्राशन विवादित, स्थगित गर्न बालरोग विशेषज्ञको माग

स्वास्थ्य मन्त्री पौडेलले उद्घाटन गरेको स्वर्णप्राशन विवादित, स्थगित गर्न बालरोग विशेषज्ञको माग

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्र प्रदीप पौडेलले सुदूरपश्चिमको धनगढी प्रादेशिक आयुर्वेद चिकित्सालयबाट अभियानको रुपमा सुरू गरेको ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ स्थगित गर्नुपर्ने बालरोग विशेषज्ञहरूले माग गरेका छन्। 

स्वास्थ्य मन्त्री पौडेलले भदौ ५ गते बालबालिकालाई आफैं स्वर्ण विन्दु प्राशन खुवाएर सुरु गरेको यो कार्यक्रम स्थगित गर्न बालरोग विशेषज्ञको संस्था नेपाल पेडियाट्रीक सोसाईटीले विज्ञप्ति मार्फत माग गरेको हो। 

सोसाईटीले बालबालिकालाई स्वर्ण भस्म तथा स्वर्णकल्प खुवाउने ‘इम्युन बुस्टर’ को वितरणको सरकारी अभियानप्रति असहमति जनाउँदै स्थगित गर्न अनुरोध गरेको छ।  वैज्ञानिक प्रमाण, बाल–सुरक्षा र नियामक पारदर्शिता नआएसम्म सो अभियान स्थगित गर्न सोसाइटीले सरकारलाई अनुरोध गरेको छ। 

‘एक वर्ष मुनिको उमेरका बालबलिकाहरूमा मह निषेधित भएको पृष्ठभूमि तथा गोल्ड सम्बन्धी जोखिम र नियम प्रक्रियामा पारदर्शिता नआएसम्म यो अभियान स्थगित गर्नु उचित हुनेछ’, सोसाइटीले भनेको छ।

सोसाइटीले भदौ ८ मा विज्ञप्ति निकाल्दैन ‘स्थिति-पत्र (पोजिशन पेपर) अनुसार हालसम्म उपलब्ध वैज्ञानिक प्रमाण, बाल–सुरक्षा, गुणस्तर र जोखिम तथा नियामक स्पष्टता अपर्याप्त देखिएको उल्लेख गरेको छ। त्यसैले शिशुहरूमा स्वर्णकल्पबाट ‘प्रतिरक्षा प्रणालीको वृद्धि’ हुने आधारको अभाव, ‘हेभी मेटल (गाल्ड) सम्बन्धी जोखिम र औषधि व्यवस्था विभागबाट दर्ता तथा ब्याज–परीक्षण सार्वजनिक नभएको सोसाइटीले जनाएको छ। त्यसैले स्वर्ण भस्म तथा स्वर्णकल्प खुवाउन सहमति नरहेको सोसाइटीले जनाएको छ। 

यस्तो छ जोखिम 

क्लिनिकल प्रमाणको अभावका कारण गोल्ड (हेभी मेटल, गोल्ड साल्टस् वा न्यानोपार्टिकल सन्दर्भ)बाट हानिको सम्भावना स्पष्ट देखिन सक्ने सोसाइटीले जनाएको छ। त्यसैगरी बजार सर्वेक्षणमा केही आयुर्वेदिक उत्पादनमा सिसा (लिड), पारो (मर्करी), आर्सेनिक (आर्सेनिक)जस्ता भेटिने तथ्य तथा बाल-शिशा-विषाक्तता (लिड पोइजनिङ) का घटनाहरू पनि देखिएको विज्ञप्तिमा उल्लेख छ। औषधि व्यवस्था विभागको दर्ता प्रमाणपत्र नम्बर, वैधता, सङ्केत, उमेर तथा प्रयोग हुने ‘सर्टिफिकेट अफ एनालाइसिस (सीओए) सार्वजनिक नभएसम्म बाल-उपयोगमा सो पदार्थ दिन नहुने सोसाइटीले जनाएको छ। 

पारदर्शी हुनुपर्ने माग

अन्य औषधिजन्य पदार्थ प्रयोगमा ल्याउनु अघि अवलम्बन गर्नुपर्ने प्रक्रिया पुगे-नपुगेका सम्बन्धमा औषधि व्यवस्था विभागले आधिकारिक धारणा तथा नियामक पारदर्शिता सार्वजनिक गर्नु पर्ने सोसाइटीले जनाएको छ।

स्वर्णभस्म तथा स्वर्णकल्प वितरण कार्यक्रमले शिशु समेट्ने भए उमेर-सुरक्षा सम्बन्धी, मह भएको कुनै पनि पदार्थ दिन मिल्ने नमिल्ने गरी स्पष्ट उमेर चेतावनी मूलक सन्देश राख्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

यसको प्रयोग गर्ने पर्ने भएमा प्रयोग गर्नु अघि विशेष अध्ययन अनुसन्धान पश्चात् सुरक्षित छ भनि प्रमाणित भए मात्रै प्रयोग गर्नुपर्ने माग छ। 

सरकारले विशेष स्तनपान, समयमै खोप, भिटामिन-ए, पखालामा जिङ्क, पोषण र वास जस्ता प्रमाणित उपायहरूमा लगानी विस्तार गर्नु पर्ने सोसाइटीको माग छ।

सावधानी अपनाउन अनुरोध

एक वर्ष मुनिका शिशुलाई मह नदिन सोसाइटीले अनुरोध गरेको छ। स्वर्णभस्म तथा स्वर्णकल्पको ‘इम्युन बुस्ट’ दाबीबारे उच्च गुणस्तरीय प्रमाण नआएसम्म सावधानी अपनाउन अनुरोध गरेको छ।

बालबालिकाको स्वास्थ्य बलियो बनाउन विशेष स्तनपान, समयमै खोप, उचित पोषण तथा स्वच्छता र समयमै उपचार गर्नु पर्ने नै प्रमाणित उपाय भएको विज्ञप्तिमा उल्लेख छ। यो विषयसँग सम्बन्धी शंका भएको खण्डमा र स्वर्णभष्म सेवनपछि कुनै प्रतिकूल असर देखिएको खण्डमा बालरोग विशेषज्ञ चिकित्सकसँग तुरुन्त परामर्श लिन पनि सोसाइटीले अनुरोध गरेको छ। 

पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थमा आधारित स्वर्ण बिन्दु प्राशन

‘स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले बताए। यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र बलियो बनाउन  मद्दत गर्ने उनको तर्क छ। ‘यो कुनै अन्धविश्वासमा आधारित परम्परा होइन, यो हजारौं वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान हो,’डा. यादवको तर्क छ। स्वर्ण भष्मको ‘इम्युनोमोडुलेटर’ गुण, ब्राह्मीको ‘न्युरो–प्रोटेक्टिभ’ क्षमता र महको प्राकृतिक ‘एन्टी–माइक्रोबियल’ गुणबारे आधुनिक अनुसन्धानले पनि पुष्टि गर्दै लगेको उनले बताएका छन्। 

भारतमा समेत ‘स्वर्णप्राशन संस्कार’लाई राष्ट्रिय आयुर्वेद अभियान अन्तर्गत बाल स्वास्थ्यको एक महत्वपूर्ण अंगको रूपमा वर्षौंदेखि सञ्चालन गरिँदै आएको आयुर्वेद चिकित्सक बताएका छन्। 

राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रमलाई देशव्यापी रूपमा व्यवस्थित, सुरक्षित र एकरूपताका साथ सञ्चालन गर्न भन्दै स्वास्थ्य मन्त्रालयले ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२’ समेत स्वीकृत गरि सकेको छ। 
यस निर्देशिकाले स्वर्ण बिन्दु प्राशनको मिश्रण तयार पार्ने विधि, मात्रा, गुणस्तर, भण्डारण, खुवाउने प्रक्रिया र स्वास्थ्यकर्मीको भूमिकालाई स्पष्ट रूपमा परिभाषित गरेको आयुर्वेद विभागका महानिर्देशक डा. यादवले बताउँदै आएका छन्। 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद स्वास्थ्य प्रबर्द्धन शाखा प्रमुख डा. वंशदीप शर्मा खरेलले स्वर्ण विन्दु प्राशनमा स्वर्ण भष्म, मह र ब्राह्मी घृत मिसाएर बनाइने बताए। त्यसैले स्वर्ण भष्म र बाह्मी घृत औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्ने उनी बताउँछन्।  तर, मह भने खाद्य प्रविधि तथा गण नियन्त्रण विभागको मापदण्ड अनुसार भएको हुनुपर्ने डा. खरेलले बताए। 

स्वर्ण विन्दु प्राशन बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने, स्मरण शक्ति बढाउने, पाचन शक्ति सन्तुलित बताउने र समग्र शारीरिक तथा मानसिक वृद्धि विकासका लागि सहयोगी भूमिका मात्रै हुने उनले बताए। त्यसैले यो अन्य प्रचलित कुनै रोग विरुद्धका लागि बनाइएका खोप जस्तो नभएको बताउँदै स्वर्ण विन्दु प्राशनको विषयमा दुविधामा नपर्न समेत डा. खरेलले अनुरोध गरेका छन्। 

स्वर्ण प्राशन सुन, मह र घ्युलगायतका जरिबुटी मिलाएर बनाइन्छ। यसले बालबालिकालाई लाभ नै गर्ने आयुर्वेदिक चिकित्सकको दाबी छ। आयुर्वेदिक चिकित्सकको निगरानीमा सम्बन्धित सरकारी आयुर्वेदिक संस्थाले स्वर्ण प्राशन आफैँ बनाएर खुवाउने निमित्त महानिर्देशक डा. यादवले बताए। ‘स्वर्ण प्राशन व्यापारिक कुनै कम्पनीबाट किनिँदैन’, उनले भने।

स्वर्ण प्राशन बनाउने भष्म, मह र घ्युलगायतका जडिबुटी किनेर बनाइने उनले बताए।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले स्वर्ण भष्म दर्ता हुनुपर्ने बताए। विभागमा यो औषधि दर्ता गर्न मिल्ने र स्वर्ण भष्म दर्ता भए नभएको एकिन गरेर मात्रै प्रयोग गर्न ढकालले अनुरोध गरे। तर, उनले दर्ता भए-नभएको बारे खुलाएनन्।

भदौ ९, २०८२ सोमबार १५:०१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।