प्रधानमन्त्री पदको लोभबाट कांग्रेस मुक्त हुनुपर्छ : गगन थापा

प्रधानमन्त्री पदको लोभबाट कांग्रेस मुक्त हुनुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस प्रधानमन्त्री पदको लोभ र २०८४ को चुनावको डरबाट मुक्त हुनुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक सङ्ग्रहको विमोचन कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाड्ने आश्वासन दिनुको कुनै अर्थ नभएको टिप्पणी गरे।

उनले भने, ‘डर र लोभ, यी दुई कुराबाट मुक्त नभएसम्म हामी अगाडि बढ्न सक्दैनौँ। कांग्रेस अहिले नै २०८४ को चुनावमा के हुन्छ भन्ने चिन्ता र ‘पछि प्रधानमन्त्री पद पाइन्छ कि’ भन्ने लोभबाट मुक्त हुनुपर्छ। प्रधानमन्त्री ओलीले हामीले बिर्सिए पनि पद छाड्ने कुरा सम्झाइरहनुहुन्छ। तर उहाँले छाड्नुहुन्छ कि छाड्नुहुन्न भन्ने कुराबाट हामी प्रभावित हुनुहुँदैन।’

महामन्त्री थापाले ‘अरूका लागि सोच्छु’ भनेर राजनीतिमा लागेका कार्यकर्ताहरू पनि बढ्दो प्रतिस्पर्धाका कारण खिइँदै गएर आफ्नो र परिवारको साँघुरो घेराभन्दा माथि उठ्न नसक्ने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे।

भदौ ९, २०८२ सोमबार १४:५८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।