सरकारी बेवास्ता र ठेकेदारको लापरबाहीले ९ वर्षसम्म पनि बनेन बेलबास-बेथरी नमूना सडक, ठेक्का तोड्ने तयारी

बुटवल : नेपालकै नमूना सडकका रुपमा परिकल्पना गरिएको बेलबास-बेथरी नमूना सडक निर्माण सुरु भएको ९ वर्ष भयो। तर काम कहिले सकिन्छ टुङ्गो छैन।
अन्तर्राष्ट्रिय महत्वको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनी पुग्न पूर्व-पश्चिम राजमार्गबाट नमुना सडकको परिकल्पना गरिएको यो सडक कहिले सम्पन्न हुन्छ अझै पत्तो छैन। तीन वर्षमा सक्नेगरी ९ वर्षअघि सुरु गरिएको यो योजनाको कामले गति नलिएको भन्दै लुम्बिनी प्रदेश सरकार ठेक्का तोड्ने तयारीमा लागेको छ।
बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २२ किलोमिटर सडक ३ प्याकेजमा गरी ०७३ सालमा कुल १ अर्ब ६७ करोडको लागतमा निर्माण थालिएको थियो। तर सरकारी बेवास्ता र ठेकेदारको लापरबाहीले सडक नबनेको हो।
बेलबास बेथरी सडक आयोजनाको दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसकेको छ भने उत्तरतर्फको खण्ड अझै पूरा हुन सकेको छैन। २०७६ असार मसान्तसम्म सम्पन्न गर्नेगरी बुटवल-बेतानी साढे ८ किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिएको थियो। तर उसले अझैसम्म काम सम्पन्न गरेको छैन।
यो सडक खण्डमा साढे ८ किलोमिटरमध्ये २ किलोमिटर लामो समयदेखि कालोपत्रे हुन सकेको छैन। बेलबास बेथरी सडक बुटवलको नहरपुरदेखि बेथरीसम्म नहरको दुबैतिर दुई-दुई लेनको सडक र नहरको छेउछाउमा हरियालीसहितको उद्यान बनाउने योजना सहित अघि बढेको नमुना सडक हो।
२०७३ असार ३० गते बज्रगुरु कान्छाराम जेभी र रमण जेजेसिसिएल जेभीसँग ठेक्का सम्झौता भएपछि सुरु भएको यो आयोजना ३ वटा प्याकेजमा ठेक्का लगाइएको थियो। जस मध्ये रमण जेजेसिसिएल जेभीले काम सम्पन्न गरेको छ। ६८ करोड ३६ लाख १२ हजार २९४ रुपैयाँमा सम्झौता उक्त कम्पनीले काम सुरु गरेको थियो।
त्यस्तै दक्षिणतर्फको एउटा साढे ८ किलोमिटर र अर्को ४ किलोमिटर सडक गरी दुई वटा प्याकेजको ठेक्का रमण कन्स्ट्रक्सनले ३७ करोड ८२ लाख ७० हजार ३४४ सम्झौतामा काम गरेको थियो। यो कम्पनीले अघिल्लो वर्ष नै काम सम्पन्न गरिसकेको छ।
सुरुमै सम्झौता गरेको बज्रगुरु कान्छाराम जेभीले ६० करोड ८८ लाख ६१ हजार ४ सय ८४ रुपैयामा ठेक्का पाएको थियो । सम्झौता अनुसार २०७६ असार मसान्तमा काम सकिनुपर्ने थियो। तर अहिलेसम्म सडक बनेको छैन। बरु पटक-पटक म्याद थप मात्र भइरहेको छ। पछिल्लो पटक थपिएको म्याद पनि ०८१ चैतमा सकिएको छ। त्यसयता भने न सरकारले म्याद थपेको छ न त निर्माण कम्पनीले काम नै गरेको छ।
सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख लालु गिरीका अनुसार सडकको हालसम्म ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। ६५ प्रतिशत काम सम्पन्न हुँदा निर्माण कम्पनीले १० करोड पेस्की सहित ३५ करोड ३५ लाख रुपैयाँ लगेको छ।
विगतमा निर्माण कम्पनीले कहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कहिले आर्थिक समस्या देखाएर काम टार्दै आएको थियो। पटक-पटक पत्राचार गरेर सडक निर्माणको काम सम्पन्न गर्न आग्रह गरे पनि अहिलेसम्म पूरा हुन नसकेकाले ठेक्का तोडेर नयाँ ढंगबाट जाने तयारी भइरहेको पनि कार्यालय प्रमुख गिरीले बताए।
अहिले पेस्की रकम जफत गर्ने प्रक्रिया चलिरहेको छ। ‘ठेक्का तोड्ने प्रक्रिया अनुसार हामीले पेस्की रकम जफत गर्न बैंकलाई पत्राचार गरेका छौ। पेस्की रकम जफत भएपछि ठेक्का प्रक्रिया तोड्नेछौ’ उनले भने।
सडक अधिकार क्षेत्र भित्र परेका निजी घर तथा जग्गा जमिनको मुआब्जा माग गर्दै काममा अवरोध तथा प्रदेश सरकारलाई ठेक्का हस्तान्तरण र साईट क्लियरेन्समा समस्या हुँदा पनि यो सडक समयमै निर्माण सम्पन्न हुन विलम्ब भएको हो। त्यस बाहेक सडक छेउ रहेका सिँचाई कुलो विस्थापन भएको र सो को विकल्प माग गर्ने उपभोत्ताहरूबाट पनि काममा अवरोध भएको थियो। तर अहिले सबै समस्या समाधान भएपनि निर्माण कम्पनीको अटेरीले काम अघि बढ्न सकेको छैन।
समयमै काम नसकिँदा यो आयोजनाको लागत पनि बढेको छ । सुरुमा दुई अर्ब ८० करोड रुपैयाँ अनुमान गरिएकोमा अहिले लागत बढेर ३ अर्ब ५० करोड पुगेको छ। योजना अनुसार पर्यटन मार्ग निर्माण गर्न थप एक अर्ब रुपैयाँ चाहिने भएको छ।
त्यसो त आयोजना सुरु हुँदा यो संघीय सरकार अन्तर्गत डिभिजन सडक कार्यालय बुटवलले हेरेको थियो। मुलुक संघीय संरचनामा गएपछि यो आयोजना प्रदेशमा हस्तान्तरण भयो। केही समय आयोजना हस्तान्तरण हुँदा लाग्यो। प्रदेशमातहत आएपछि कपिलवस्तु डिभिजन कार्यालयले यो सडक हेरेको थियो। पछि कपिलवस्तु डिभिजन संघ सरकार मातहत गएपछि उसले कपिलवस्तु सडक पूर्वाधार कार्यालय जिम्मा लिएको थियो। हाल सडक पूर्वाधार कार्यालय रुपन्देही मातहत छ।
२२ किलोमिटरको यो सडक नमुना हुने भएकाले पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। त्यति मात्र हैन, प्रदेश सरकारले अगाडि बढाएको बेथरी गुरवनिया तुनिहवा मझगावा सेमरा खैराघाट सडक र बेलबास बेथरी सडक आयोजना सम्पन्न भएपछि रुपन्देही जिल्लाको पिछडिएको मर्चवार क्षेत्र नजिकको हुलाकी राजमार्ग र महेन्द्र राजमार्गसँग छोटो दुरीमा जोडिने सडक हो।
बुटवलबाट मुकाम हटेपछि कम प्राथमिकतामा
देश संघीयतामा गएपछि संघीय सरकारले यो आयोजनाबाट हात झिक्यो । संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय, बुटवलले २०७५ सालमा यो मार्ग लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गर्यो।
प्रदेश मातहत आएपछि यो सडकलाई प्रदेश सरकारले २ आर्थिक वर्षमा प्राथमिकतामा राखेर बजेट विनियोजन समेत गर्यो। तर जब बुटवलबाट मुकाम दाङ गयो। विस्तारै आयोजना सरकारको प्राथमिकता पर्न छाड्यो।
संघ सरकारले योजना सुम्पिए पनि बजेट विनियोजन नगर्दा कामले गति लिन सकेको छैन। लुम्बिनीका पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले आयोजनालाई आवश्यक रकम संघ सरकारले नदिएकाले यो आयोजनाका लागि बजेट विनियोजन गर्न नसकिएको बताए। उनले बहुवर्षीय योजना भएकाले अझै पनि बजेट आएमा काम अघि बढ्ने र आयोजनाका लागि संघ सरकारसँग बजेट माग गरिएको बताए।
नहरमा ढुंगा चलाउने सपना
बुटवलको बेलवास झोलुङ्गेपुल चोकदेखि भैरहवा-लुम्बिनी सडकको बेथरीसम्म २२ किलोमिटर लामो यो सडकको बीचमा नहर छ। नहरको दुवैतिर हरियाली बनाउन ग्रिनेरी बेल्ट छ त्यसको बाहिर सात/सात मिटर फराकिला सडक, त्यसबाहिर दुई मिटरको साइकल लेन र १.८ मिटरको फुटपाथ समेत बनाउने योजना छ। नहरको दुवै साइडको भित्तामा फूल र दुबो रोपेर हरियाली बनाइने बताइएको छ।
दुवैतिर सडक बत्ती र नहरको पानीतर्फ फर्काइएका रङ्गिन बत्तीले यो सडकलाई आकर्षक बनाउने योजना छ। नहरमा पानीको मात्रा बढाएर लामो दूरीको र्याफ्टिङ वा बोटिङसमेत गर्न सकिने महत्वकांक्षी योजना अगाडि सारिएको छ।
तर निर्माण सम्पन्न भइसकेको स्थानमा हरियाली छैन। त्यहाँ डुंगा चलाउन मिल्ने गरी पूर्वाधार पनि बनेको छैन। सडक निर्माणको काम सम्पन्न भएपनि नहरलाई यसै छाडिएको छ। नहरको सौन्दर्यीकरण र हरियालीको काम पनि बाँकी नै छ। सडकपेटी र साइकल लेनको काम पनि भएको छैन।
भदौ ९, २०८२ सोमबार १४:३२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।