दुई नाबालिका बलात्कार आरोपमा ७१ वर्षीय वृद्धसहित तीन जना पक्राउ

दुई नाबालिका बलात्कार आरोपमा ७१ वर्षीय वृद्धसहित तीन जना पक्राउ

काठमाडौं : झापा र नुवाकोटमा दुई छुट्टाछुट्टै घटनामा १६ र १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ७१ वर्षीय वृद्धसमेत रहेका छन्।

झापाको कचनकवल गाउँपालिकामा १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही गाउँपालिका-७ का ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङ रहेका छन्।

पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको टोलीले उनीहरूलाई आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै, नुवाकोटमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बिदुर नगरपालिका-३ मैरीटारका ३५ वर्षीय बाबुराम माझी रहेका छन्। उनलाई पीडितको उजुरीपछि प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।

दुवै घटनाका अभियुक्तहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

भदौ ९, २०८२ सोमबार १४:१३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।