
‘कुलिङ पिरियड’ विवादपछि नेतृत्वविहीन भएको राज्य व्यवस्था समितिको निर्वाचन भदौ ११ गते हुने

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गते तय गरिएको छ। सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोक्दै कानुनी व्यवस्था अनुसार निर्वाचन हुनु भन्दा ४८ घण्टा अघि तालिका सार्वजनिक गरेका हुन्।
यसअघि समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी विवादकै कारण राजीनामा दिएका थिए। नेतृत्व रिक्त रहेपछि समितिमा रहेका विधेयकहरूको काम रोकिएको छ।
राज्य व्यवस्था समितिको बैठक नबसेको दुई महिना नाघिसकेको छ। राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ। कानुन अनुसार रिक्त पदमा १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने व्यवस्था छ।
नेकपा एमालेले कांग्रेसलाई सभापति बनाउन सघाउने संकेत दिएको छ। समितिको सभापतिमा कांग्रेसका दिलेन्द्रप्रसाद बडूको नाममा सहमति गर्ने प्रयास भइरहेको छ।
२७ सदस्यीय समितिमा कांग्रेसका ९ र एमालेका ६ सांसद छन्। यी दुई दल मिल्दा १५ मत पुग्ने भएकाले बहुमत हासिल गर्न सक्ने देखिन्छ।
भदौ ९, २०८२ सोमबार १३:३६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।