
जनै हराएको मान्छे : भावुकताको ओभरडोजले अधकल्चो

आधा पाकेको अनि आधा काँचोलाई के भन्ने? न पुरा पाकेको भन्न सकिन्छ न पुरै काँचो नै भन्न सकिन्छ। यस्तोमा सकारात्मक भनौँ न त भन्ने हो भने पाकेपाके जस्तै छ भन्ने हो। नकारात्मक भन्ने हो भने काँचोकाँचो जस्तै छ भन्ने त हो।
फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को हकमा पनि यस्तै नै देखियो। कथा, पात्रको विकास, कथ्यशैली र अभिनयलाई एकै ठाउँमा राखेर हेर्दा न अधकल्चो देखियो। न पुरै पाक्न सक्यो न त काँचो नै रह्यो।
विजय बराल व्यापारको रेकर्ड ब्रेक गरेको ‘पूर्णबहादुरको सारंगी’का मुख्य अभिनेता भएकाले उनको अर्को मुख्य भूमिका रहेको फिल्मसँग दर्शकले अपेक्षा गर्नु सामान्य नै हो।
अभिनयको दृष्टिले हेर्ने हो भने फिल्म बलियो छ। तर कथा र प्रस्तुति लगायत फिल्मका अन्य पक्ष हेर्दा चित्त बुझ्दो फिल्म बनाउन सकेनन् निर्देशकले।
विजय बराल बाहेक पूर्णबहादुरका सारङ्गीका कलाकारहरू छैनन् यो फिल्ममा। तर फिल्ममा ‘पूर्णबहादुरको सारंगी’को ह्याङ हाबी देखिन्छ। पूर्णबहादुरमा बाबु छोराको संघर्षको कथा थियो भने जनै हराएको मान्छेमा छोराबाबुको कथा छ।
फरक भनेको ‘पूर्णबहादुरको सारंगी’मा बाउले छोरालाई पढाउन गरेको संघर्षको कथा समेटियो भने ‘जनै हराएको मान्छे’मा छोराको संघर्षको कथा समेटियो। यसमा हल्का ट्विस्ट भनेको छोरालाई बाबु र दिदीबीचको सम्बन्धको धागोले बाँध्ने प्रयास गरिएको छ। फिल्मको लक्ष्य दर्शकलाई हलमा धरधरी रुवाउने नै देखियो।
तर अति पीडा दिँदा मान्छेको मन कोमल रहँदैन कठोर बनिदिन्छ। यो फिल्मको हकमा पनि यस्तै देखियो।
अब लागौँ कथासार तर्फ
सिताराम (विजय बराल) गाउँमा सबैले मानेका ब्राह्मण परिवार पुरोहित चिन्तामणि (भोलाराज सापकोटा)का छोरा हुन्। उनी निकै सोझा छन्। उनकी आमाले छोराको व्रतबन्ध गर्न रहर गरेपछि चिन्तामणिले छोरा सानै भएपछि धूमधामले व्रतबन्ध गरिदिन्छन्। सितारामकी आमाले जनैको महत्त्व बुझाउँदै यदि जनै हरायो वा चुँडियो भने अर्को नलगाउँदासम्म बोल्नु हुँदैन भनेर सिकाउँछिन्।
केही दिनमै स्कुलका खेल्दाखेल्दै जनै चुँडिन्छ तर बालक सितारामले साथीहरूसँग बोल्छन्। लगत्तै उनको परिवारमा दुखद दुर्घटना निम्तन्छ। उसको बाल मस्तिष्कमा जनै चुँडिदा बोलेकाले त्यस्तो भएको हो भन्ने नकारात्मक प्रभाव पर्छ।
एक छिमेकीबाट कोरियाको गफ सुनेपछि उनलाई पनि कोरिया जाने भूत सवार हुन्छ। ‘तँ जानै सक्दैनस्’ भनेपछि इख पलाउँछ र कोरिया जाने लक्ष्यसहित उनी कोरियन भाषा सिक्न काठमाडौँ छिर्छन्।
निर्देशकले फेरि एक घटनामा उनको जनै चुँडाएका छन्। बाल मस्तिष्कमा गढेको गलत प्रभावका कारण जति सङ्कट पर्दा पनि उनी नयाँ जनै नलगाएसम्म बोल्दैनन्। नयाँ जनै किन्न उनीसँग सँग पैसा हुन्न।
त्यसैमा निर्देशकले दिदी, प्रेमिका अनि बाबुको कथा मिसाएका छन्।
उनी कोरिया जान सक्छन् या सक्दैनन् मूल कथा भने त्यसैमा केन्द्रित छ।
सबल पक्ष
यो फिल्मको सबैभन्दा बलियो पक्ष कलाकारको अभिनय हो। निर्देशक हिमाल न्यौपानेले पात्र अनुसारकै कथा चयन गरेका छन्। पात्रहरूलाई राम्रो अभिनय गराएका छन्।
विजय बरालले सिताराम पात्रलाई गज्जबले निभाएका छन्। भिनाजु अर्थात् गौरव पहारीले जादु देखाउँदाको क्यारेक्टर मजाले निभाएका छन्।
केकी अधिकारीको अभिनयमा पनि नयाँ स्वाद भेटिन्छ। मिरुना मगरले पाएको चरित्र अनुसारको अभिनयमा न्याय गरेकी छिन्। अन्य कलाकारले पनि आफ्नो अभिनयबाट फिल्मलाई कमजोर हुन दिएका छैनन्।
फिल्मको छायाङ्कनमा समस्या छैन। ब्याकग्राउन्ड म्युजिकले फिल्मलाई बलियो नै बनाउन सहयोग गरेको छ।
दुर्बल पक्ष
माथि नै उल्लेख गरेको प्रसङ्ग जस्तै फिल्म आधा काँचो अनि आधा पाकेको छ। पहिलो हाफसम्म फिल्म काँचोकाँचो छ। दोस्रो हाफमा फिल्म पाकेपाके जस्तो छ। यसले न फिल्म पुरै काँचो नै रह्यो न पुरै पाक्न नै सक्यो। अर्थात् अधकल्चो भयो।
यसको कारण हो फिल्मको पहिलो हाफ निकै सुस्त हुन्। पहिलो हाफमा फिल्म डेगै नचलेको अनुभव हुन्छ। एकै विषय दोहोरिइरहेको अनुभव हुन्छ, कथा अनि पात्र एकै ठाउँमा अल्झिएको अनुभव हुन्छ।
दोस्रो हाफमा मात्र बल्ल फिल्मले गति लिन्छ। तर पहिलो हाफको गति दोस्रो हाफसँग मिल्दैन। दोस्रो हाफमा जसरी कथात्मक संरचना निर्माण गरियो त्यसको आधा मात्रै पहिलो हाफमा मिहेनत गरेको भए फिल्मको गुणस्तर फरक हुनसक्थ्यो।
अर्को समस्या फिल्मको कथाको गाँठो फुकाउन निर्देशकले सिताराम पात्रलाई कहिले जादुमा पठाएका छन् भने कहिले गुन्डाहरूको पन्जामा पारेका छन्। कहिले रिक्सा चालक बनाएका छन् त कहिले कता। फिल्ममा पात्रलाई कसिलो बनाउन नसक्दा बराल यसमा छरिएका छन्। छरिएको पात्रलाई सम्पादनमार्फत कसिलो बनाउने ठाउँ नभएको हैन। तर निर्माण टिमले त्यता ध्यानै दिएको देखिएन।
हाफटाइमपछि फिल्मले गति लिन थाल्छ। तर त्यो बेलासम्म हलको कुर्सीमा टिकिरहने धैर्यमा दर्शकमा नहुन पनि सक्छ।
फिल्मको अर्को कमजोरी हो अति भावुकता। सकारात्मक होस् या नकारात्मक होस् अति हुनु भनेको खती हुनु नै हो। निर्देशकले दर्शकलाई भावुक बनाएर हलमा रुवाउन भावुकताको अति नै प्रयोग गरेका छन्। त्यसले फिल्मको समय समेत लम्बिएको छ।
एउटा पात्रले कति पटक ठक्कर खाने? कति पटक मनमा चोट पाएर हलको कुर्सीमा बसेका दर्शकको आँखा भिजाउने?
मान्छेको मन हो, पटक पटक दुख पाउनु भनेको मन कठोर हुनु पनि हो। फिल्मको व्यापारको गतिले जनै हराएको मान्छेको हकमा दर्शकको मन यस्तै कठोर बनेको संकेत देखियो।
दर्शकलाई रुवाउन सकियो भने ‘पूर्णबहादुर’को जस्तो व्यापारको अर्को रेकर्ड राख्न सकिन्छ भन्ने भ्रममा निर्देशक नमज्जाले फसेको अनुभव भयो। नत्र यति धेरै भावुक दृश्यहरू पस्कन आवश्यक छ र !
जनेकै मूल्य कति हो जुन किन्न नसक्दा मान्छे फस्ने? जनै नलगाई गर्न नहुने हिन्दु संस्कारहरू के-के हुन्? बरु तागाधारी दर्शक प्रस्ट होलान् तर निर्देशकमा अलमल देखियो। फिल्मको क्लाइमेक्स त्यस्तै कमजोर देखियो। दर्शक रुन सक्लान् तर सहमत हुन सक्दैनन् क्लाइमेक्समा।
थानेश्वर गौतमले गाएको ‘आधाआधी’ बोलको गीत फिल्म सुहाउँदो छ। बाँकी गीत हुनु र नहुनुले फिल्मको कथामा कुनै सकारात्मक वा नकारात्मक प्रभाव पर्दैन।
पात्रलाई कतिसम्म दुखको भारी बोकाउँदा दर्शकले धान्न सक्छन् ? फिल्म निर्देशक यसैमा अलमलमा परेको देखियो।
जुनसुकै पात्र हुन् भारी बोकाउने ज्यानले वा मनले धान्न सक्ने मात्र त हो। जब मन वा ज्यानले धान्नै नसक्ने भारी बोकाइन्छ तब पात्र त्यही भारीले थिचिएर मर्छ। फिल्म जनै हराएको मान्छेमा निर्देशकको सबैभन्दा ठूलो कमजोरी नै यही देखियो।
निर्देशकले पात्र त गतिलै छानेका हुन्, पात्रले इमानदारीताका साथ जिम्मेवारी पनि निभाएकै छन्। तर दर्शकको आँसुले हल भरेर व्यापारको ऐतिहासिक आँकडा बनाउने लालचमा पात्रले धान्नै नसक्ने दुखको भारी बोकाउँदा फिल्मको कथा त्यही भारीले किचिएर मर्यो। दर्शक जनै हराएको मान्छे हेर्न हलमा पस्ने आँटै गरिरहेका छैनन्।
भदौ ९, २०८२ सोमबार १३:०७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।