
भियतनामी उपराष्ट्रपति सुआन शीतल निवासमा

काठमाडौं : नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति वो थि आन्ह सुआनले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेकी छन्।
भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्ने ठूलो सम्भावना रहेको भन्दै यसलाई अझ तीव्र बनाउन नेपाल इच्छुक रहेको बताए। उनले नेपाल हाल कृषि, पर्यटन, उत्पादन र जलविद्युत्मा लगानी बढाएर आर्थिक-सामाजिक रूपान्तरणमा केन्द्रित रहेको जानकारी दिँदै भियतनामको तीव्र आर्थिक विकासप्रति खुशी व्यक्त गरे।
राष्ट्रपति पौडेलले बौद्ध धर्मलाई दुवै देशका जनताबीचको आत्मीय सम्बन्धको महत्वपूर्ण सेतुका रूपमा वर्णन गर्दै, लुम्बिनीलाई भियतनामी श्रद्धालुहरूले पवित्रस्थलका रूपमा हेर्ने गरेको प्रसङ्ग पनि उठाए।
सो अवसरमा उपराष्ट्रपति सुआनले नेपालले सन् २०३० सम्म मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्य लिएको र भियतनामले सन् २०४५ सम्म उच्च आय भएको मुलुक बन्ने प्रयत्न गरिरहेको उल्लेख गर्दै दुवै देशबीच २०३० भन्दा अघि नै बृहत् सहकार्यको ढाँचा तयार गर्न आवश्यक रहेको धारणा राखिन्।
उनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा सहकार्य गर्न सकिने बताएर अन्तर्राष्ट्रिय शान्ति स्थापना र जलवायु परिवर्तनविरुद्ध नेपालले देखाएको प्रतिबद्धताको प्रशंसा गरिन्।
भदौ ९, २०८२ सोमबार १२:२९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।