पाँच कलाकारका कला : काठमा बालुवा भरेको थाङ्कादेखि धार्मिक र मिथिला कलासम्म

पाँच कलाकारका कला : काठमा बालुवा भरेको थाङ्कादेखि धार्मिक र मिथिला कलासम्म

काठमाडौं : कलामा नयाँ प्रयोग खोज्नेहरूका लागि ठमेलस्थित ‘द कला सलोन’ मा सुरु भएको प्रदर्शनी खास फरक छ। यहाँ पाँच कलाकारका ३२ वटा कलाकृति सजिएका छन्, जसमा परम्परागतदेखि आधुनिकसम्मका विविध रूप देख्न पाइन्छ।

सबैभन्दा ध्यान तानेको प्रस्तुति छेपाल दोर्जे शेर्पाको हो। उनले सिसौको काठमा गम लगाएर रङ मिसाइएको बालुवा चुहाउँदै ‘हरित तारा मण्डला’ सिर्जना गरेका छन्। झट्ट हेर्दा क्यानभासमा कोरिएको झैँ लाग्ने यो कलाले थाङ्काको प्रभावलाई बालुवामा उतारेको छ। ‘धार्मिक मान्यताअनुसार केही नयाँ दिने उद्देश्यले यस्तो प्रयोग गरेको हुँ,’ उनले बताए।

प्रदर्शनी संयोजक उमेश श्रेष्ठले आठ वटा कलाकृति राखेका छन्। घण्टीलाई मुख्य प्रतीक बनाएर उनले ‘द होली किस’, ‘लिभिङ गणेश’, ‘दोलखाको भीमसेन’ लगायतका सिर्जनामा धर्म, समाज र आधुनिक चेतना जोड्न खोजेका छन्। श्रेष्ठ भन्छन्, ‘हिमालय र नेपालीपनलाई आधार बनाएर समसामयिक कलालाई विश्वमै चिनाउने मेरो प्रयास हो।’ 

वीरगञ्जकी राखी कर्णले मिथिला शैलीमा १० वटा चित्र प्रस्तुत गरेकी छन्। विष्णुलोक, दशावतार, राधाकृष्ण, भगिरथ गङ्गा जस्ता विषय समेटेर उनले परम्परागत मिथिलामा रंग र कथा दुवैको नवीन प्रयोग गरेकी छन्। त्यस्तै शुभाद्री शुभाले पनि मिथिला शैलीमै ११ वटा कलाकृति प्रदर्शनीमा राखेकी छन्, जसमा माछा, कृष्ण बाललिला, मयुर लगायतका चित्र छन्।

आधुनिकतर्फ कलाकार कुमार थापाले स्टेनलेस स्टिल बाट बनेका दुई मूर्तिहरू प्रस्तुत गरेका छन्।

‘नेपाली कला विविध धारमा बगेको छ, यही विविधतालाई एउटै छानामुनि ल्याउनु प्रदर्शनीको उद्देश्य हो,’ संयोजक श्रेष्ठले भने। 

‘द हिमालयन नाउ’ शीर्षक दिइएको यो प्रदर्शनी भदौ २४ गतेसम्म ठमेलस्थित ‘द कला सलोन’ मा चल्नेछ।

भदौ ९, २०८२ सोमबार ११:५६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।