ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

काठमाडौं : घना जङ्गलको बीच, छेउमै बग्ने उत्तरगङ्गा नदी र नदीकिनारमै उभिएको काठै-काठका घरहरूको गाउँ- दिज। ढोरपाटन नगरपालिका-९ मा पर्ने यो गाउँ प्राकृतिक सुन्दरता र मौलिकताले भरिपूर्ण छ, तर अझै पर्यटकीय गन्तव्यको रूपमा परिचित बन्न सकेको छैन।

गाउँको मौलिक संस्कृति, भेषभूषा र रहनसहन आगन्तुकलाई लोभ्याउने खालको छ। तर प्रचार-प्रसार र पूर्वाधार विकासको कमीले गर्दा दिज अझै ओझेलमै परेको छ। ढोरपाटन उपत्यकाभन्दा केही टाढा भए पनि यो गाउँ पर्यटकका लागि अद्वितीय सम्भावना बोकेको छ।

ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरका अनुसार दिजलाई पर्यटकीय गाउँका रूपमा विकास गर्न नीति निर्माण भइसकेको छ। उनले भने, “यो पर्यटनका लागि भर्जिन गाउँ हो। हामीले होमस्टे विकास गरेर स्थानीयलाई आय–आर्जनसँग जोड्ने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने र गाउँलाई पर्यटकसँग जोड्ने तयारी गरेका छौँ।”

तर चुनौती अझै बाँकी छ। दिजसम्म सडक पुगिसकेको छैन। स्थानीयले आज पनि बजारबाट सामान बोकेर ल्याउनु पर्ने बाध्यता व्यहोर्नुपर्छ। ढोरपाटन सिकार आरक्षले अवरोध गर्दा सडक विस्तार हुन नसकेको उनीहरू बताउँछन्। गाउँका अधिकांश घर अझै परम्परागत काठकै संरचनामा टिकेका छन्।

स्थानीय मनबहादुर घर्तीका अनुसार फाट्टफुट्ट पर्यटक आउने गरे पनि ठूलो संख्यामा भित्र्याउन सकिएको छैन। बर्खाको समयमा बढी पर्यटक आउने गरे पनि बस्ने सुविधाको अभावले समस्या बढाएको छ। भैरहवादेखि दिज गाउँ पुगेका पर्यटक कुशलराज बेलवासे भन्छन्, “ढोरपाटनभन्दा दिज गाउँ धेरै सुन्दर लाग्यो। तर बस्न मिल्ने ठाउँ छैन। पूर्वाधार विकास भयो भने भविष्यमा ठूलो पर्यटकीय सम्भावना देखिन्छ।”

हालै निसेलढोर जाने पर्यटकहरू पनि घुम्दै–फिर्दै दिज प्रवेश गर्न थालेका छन्। उत्तरगङ्गा नदीमा बनाइएको काठे साँघु स्वयं पर्यटकको आकर्षण बनेको छ। गर्मी छल्न ढोरपाटन आउने धेरै आगन्तुक अब दिज गाउँतर्फ पनि आकर्षित भइरहेका छन्।

भदौ ९, २०८२ सोमबार १०:०९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।