
२०८१/८२ मा शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड बाहिरियो

काठमाडौं : देशभित्रै विश्वविद्यालय र शैक्षिक संस्थाहरू सञ्चालनमा रहेपनि नेपाली विद्यार्थी उच्च शिक्षाका लागि ठूलो मात्रामा विदेशिने क्रम बढ्दो छ। यससँगै शैक्षिक खर्चको नाममा हरेक वर्ष ठूलो रकम बाहिरिन थालेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार, शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ। अघिल्लो वर्ष (२०८०/८१) यो रकम एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रहेको थियो।
शिक्षासँगै भ्रमण व्यय पनि उल्लेख्य बढेको छ। केन्द्रीय बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भई दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो खर्च एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ थियो।
सोही अवधिमा सेवा आयमा पनि घाटा बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँ घाटामा पुगेको छ, जबकि अघिल्लो वर्षको घाटा ५५ अर्ब ८६ करोड रुपैयाँ थियो।
यता, समिक्षा वर्षमा भ्रमण आय भने ७.७ प्रतिशतले बढेर ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष भ्रमण आय ८२ अर्ब ३३ करोड रुपैयाँमा सीमित थियो।
भदौ ९, २०८२ सोमबार ०७:५६:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।