प्रभु म्यानेजमेन्टको आवरणमा ४ सय सहकारीको रकम ठगी, योजनाकार एमाले सांसद देवी !

प्रभु म्यानेजमेन्टको आवरणमा ४ सय सहकारीको रकम ठगी, योजनाकार एमाले सांसद देवी !

काठमाडौं : प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको आरोप लगाउँदै गोरखाका १६ सहकारी संस्था संगठित भएका छन्।

बैंक, हेलिकप्टर, सहकारीलगायत दर्जनौं व्यापारिक संस्था सञ्चालन गरिरहेको प्रभु ग्रुपको उक्त कम्पनीमाथि रेमिटेन्स भुक्तानीको रकम फिर्ता नगरेको आरोप छ।

प्रभु मेनेजमेन्टका अध्यक्षमा देवीप्रसाद भट्टचन थिए। उनी एमालेका समानुपातिक सांसद हुन्। अहिलेे मेनेेजमेन्टको अध्यक्ष कुसुम लामा छिन्।

विदेशबाट भित्रिएको रेमिटेन्स वितरण गर्ने एजेन्ट बनाउने प्रलोभनमा प्रभु म्यानेजमेन्टले सहकारीहरूबाट रकम लिएको तर भुक्तानी गरेको पैसा फिर्ता नगरेको पीडित सहकारीहरूको दाबी छ। एजेेन्ट बनाउने काम देवि भट्टचनको पालामा भएको देखिन्छ।

प्रभु मेनेजमेन्टको कार्यक्रममा तत्कालीन अध्यक्ष भट्टचन।गोर्खाका सहकारीहरूले मात्र संयुक्त रूपमा ९९ लाख ३७ हजार रुपैयाँ ठगी भएको दाबीसहित स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाएका छन्।

प्रभु म्यानेजमेन्टले रेमिटेन्स भुक्तानी गर्ने सम्झौता गरे पनि सोअनुसारको रकम फिर्ता नगरेर ठगी गरेको उनीहरूको आरोप छ।

उनीहरूले आफ्नो भुक्तानी बाँकी रहेको रकम फिर्ता गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभाग, नयाँ बानेश्वरमा ज्ञापनपत्र पठाएका हुन्।

गोर्खाका सहकारीको करोड बचत अपचलनको आरोप
प्रभु म्यानेजमेन्ट प्रालिले गोरखाको हिमचुली बचत तथा ऋण सहकारी संस्थाको २ लाख २२ हजार, गोरखा बचत तथा ऋण सहकारी संस्थाको ३ लाख १४ हजार रुपैयाँ, दैनिक उत्थानको १० लाख १० हजार, भीमसेन-८ को सिर्जनशील बचतको १७ लाख २० हजार, भीमकुल बचतको ३ लाख ९२ हजार र सिद्धिगणेश बचतको १ हजार ५ सय रुपैयाँ फिर्ता लिनुपर्ने ज्ञापन पत्रमा उल्लेख उल्लेख छ।

ज्ञापन पत्र बुझाउँदै गोरखाका सहकारी प्रतिनिधि। गोरखकाली बचतको ३ लाख, महिला जागरण बारपाक सुलिकोट बचतको १ लाख १० हजार, गोरखा उद्यमशील बचतको ३ लाख ११ हजार, चम्पावती बचतको ३ लाख ८ हजार, थालाजुङ विकास बहुउद्देश्यीय बचतको २ लाख ४० हजार, सप्तकोशी बचतको २ लाख ४१ हजार र शीतला बचतको २८ लाख ३५ हजार लिन बाँकी रहेको ज्ञापन पत्रका दाबी गरिएको छ।

यसैगरि सनराइज बचतको १ लाख ५ हजार, सुलिकोट बहुउद्देश्यीय बचतको १३ लाख १३ हजार र ससारी बचतको ५ लाख ८ हजार रुपैया फिर्ता लिन बाँकी रहेको बताइएको छ। 

ठगीको रकम एक अर्ब बढी
यो ठगीको सञ्जाल गोरखामा मात्र सीमित छैन। प्रभु म्यानेजमेन्टले देशभरका करिब चार सय सहकारीलाई एजेन्ट बनाउँदा धरौटी रकम लिएको र रेमिटेन्सबापत सहकारीले भुक्तानी गरेको रकम पनि फिर्ता नगरेको आरोप छ।

यसरी भुक्तानी गर्न बाँकी कुल रकम करिब एक अर्ब रुपैयाँ हाराहारीमा रहेको दाबी गरिएको छ।

यसअघि गत जेठमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले पनि १८ वटा संस्थाको ५२ लाखभन्दा बढी रकम प्रभु म्यानेजमेन्टले नदिएको भन्दै ध्यानाकर्षणपत्र बुझाएको थियो। प्रभु म्यानेजमेन्टले २ वर्षदेखि सम्झौताअनुसार भुक्तानी रोकेको ज्ञापन पत्रमा उल्लेख छ।

ज्ञापन पत्र दिँदै भक्तपुरका सहकारीका प्रतिनिधि।संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुको नेतृत्वमा बांगलामुखी साकोसका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठ, युवा साकोसको व्यवस्थापक विनोद लामिछाने, शंखधर साकोसका व्यवस्थापक राजेन्द्र कायस्थ लगायत बालुवाटारमा रहेको प्रभु म्यानेजमेन्टको कार्यालयमै गएर इन्चार्ज रामचन्द्र नेपालीलाई पत्र बुझाएका थिए।

सुपर एजेन्टको आवरणमा ठगी

प्रभु म्यानेजमेन्ट प्रभु समूहको प्रभु रेमिटेन्सको सुपर एजेन्ट हो, जसले जिल्ला-जिल्लामा सहकारीहरूलाई एजेन्ट बनाएर रेमिटेन्स भुक्तानीको काम गर्थ्यो। यसका लागि उसले सहकारीहरूबाट धरौटी रकमसमेत उठाएको थियो।

पहिले यस कम्पनीको अध्यक्ष भट्टचन नै थिए, तर पछि कुसुम लामा अध्यक्ष बनिन्। लामा अध्यक्ष बनेपछि भट्टचनले आफ्नो र परिवारका सदस्यहरूको नाममा रहेको शेयर अन्यको नाममा सारेर कम्पनीबाट बाहिरिए।

भट्टचन बाहिरिए पनि उनको कार्यकालको हिसाबकिताब र दायित्व फरफारक नभएको भन्दै वर्तमान अध्यक्ष लामाले सार्वजनिक सूचना निकाल्नेदेखि प्रहरीमा उजुरी दिनेसम्मको प्रक्रिया अगाडि बढाएकी छन्। तर, विवादका बीच सहकारीहरूको बक्यौता रकम भने फिर्ता भएको छैन। प्रहरीसम्म पुुगेको जाहेरीमा छानबिन पनि भएको छैन।

गत साउन १४ गते प्रभु म्यानेजमेन्टले एक सार्वजनिक सूचना जारी गर्दै देवी भट्टचनसहित विनोद थकाली, मिजाज भट्टचन, शिक्षा भट्टचन, ध्रुवचन्द्र धिताल र दक्ष पौडेललाई १५ दिनभित्र सम्पर्कमा आएर हिसाब बुझबुझारथ गर्न भनेको थियो।

सञ्चालक समितिमा रहँदाको हिसाब बुझाउन नआए कानुनबमोजिम असुलउपर गरिने चेतावनीसमेत सूचनामा दिइएको थियो।

सूचनाअनुसार, देवी भट्टचन २०६९ जेठ २१ देखि २०७१ पुस १९ सम्म कम्पनीमा सञ्चालक थिए। शिक्षा भट्टचन देवीको छोरी हुन्। उनी २०७४ देखि २०७७ सम्म इन्भेस्टमेन्टमा संलग्न थिइन्।  मिजाज पनि देवी निकट हुन्। उनी २०७१ देेखि २०७४ सम्म संलग्न देखिन्छन्। 

भदौ ९, २०८२ सोमबार ०९:१०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।