सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा छुटे जीवीका जेठान ज्ञानबहादुर,सहकारी ठगीमा फैलिएको छ बम्जन परिवारको जालो

सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा छुटे जीवीका जेठान ज्ञानबहादुर,सहकारी ठगीमा फैलिएको छ बम्जन परिवारको जालो

पोखरा : पोखरामा रहेको बहुचर्चित सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी घटनामा जोडिएका नाताले जीवी राइका जेठान तथा सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन कास्की जिल्ला अदालतको आदेशमा १० लाख रुपैयाँ धरौटीमा छुटे। 

सहकारी ठगीमा फरार रहेका जीवी ज्ञानबहादुरको बहिनी ज्वाइँ हुन्। उनी फरार भएपछि अदालतबाटै उनको नाममा पक्राउ आदेश जारी भएको थियो। आइतबार जिल्ला अदालतमा आफैँ उपस्थित भएका उनलाई न्यायाधीश शंकरकुमार राईको इजलासले थुनछेकको बहस सक्काउँदै १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

आदेश अनुसार उनले आइतबारै धरौटी बुझाएर रिहा भए। पोखरामा सूर्यदर्शन सहकारी खोल्दा पहिला उनै ज्ञानबहादुरको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो।२०६५ भदौ २७ मा पहिलो साधारण सभाहुँदा ज्ञानबहादुरको अध्यक्षतामा सहकारी दर्ता भएको थियो।  

सूर्यदर्शन सहकारीमा रहेको बचतकर्ताहरूको एक अर्ब ५१ करोड ठगी गरेको अभियोगमा जीवी राई, छविलाल जोशी, रवि लामिछाने लगायत ६३ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। यही सहकारी ठगीमा रवि जिल्ला अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।

बुटवलको सूप्रिम सहकारी ठगी अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका उनी अहिले उच्च अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन्।

सहकारी ठगीमा फैलिएको बम्जन परिवारको जालो

अहिले सार्वजनिक भएको सहकारी ठगीको सबैभन्दा बलियो जालो नै बम्जन परिवारको हो। त्यसैमा पछि जीवी राई लगायतकाहरु जोडिएका हुन्। यसको प्रारम्भ गोरखा सेभिङ्ग एन्ड क्रेडिट को-अपरेटिभबाट सुरु भएको देखिन्छ। ज्ञानबहादुरको दाइ डिबी बम्जन यो ठगी जालोमा मुख्य योजनाकार देखिन्छन्। डिबी गोर्खा विकास बैंकमा भएको अनियमितताका समेत प्रमुख योजनाकार हुन्।

ज्ञानबहादुर डिबीको  कान्छी आमापट्टिका साइला भाइ हुन्। उनी संस्थापक अध्यक्ष भएर पहिला उपकार सेभिङ एन्ड क्रेडिट को अपरेटिभ लिमिटेड खोलेका थिए। २०६० मा केदारनाथ शर्मा उपाध्यक्ष बने। अहिले केदार पनि सहकारी ठगीमा कारागारमा छन्। केदारनाथले पहिला शिवशिखर र तुलसी सहकारी समेत चलाएका थिए।

ज्ञानबहादुरपछि चाबहिलको कुमारी सेभिङ्ग एन्ड क्रेडिट कोअपरेटिभलि सहकारीको संस्थापक अध्यक्ष भए। पछि उनी अध्यक्ष भएर भक्तपुरमा हिमाल सेभिङ्ग एन्ड क्रेडिट कोअपरेटिभ खोलेका थिए। बम्जन परिवार यूनाइटेड गोरखा सेभिङ्ग एन्ड क्रेडिट कोअपरेटिभ, स्वर्णलक्ष्मी सेभिङ एन्ड क्रेडिट कालीमाटी, मुकुल सेभिङ एन्ड क्रेडिट, देवदर्शन सहकारी, शिखर बचत तथा ऋण सहकारी,  कल्याण सेभिङ र कस्मिक बचत सहकारीसम्ममा संलग्न भएर ठगी जालो फैलाएको देखिन्छ।

भदौ ८, २०८२ आइतबार १९:४९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।