अभियन्ता पशुपतिको प्रसव पीडा र खुसी : पहिलो गर्भ खेर गएपछि मानसिक रूपमा बलियो हुन एक वर्ष लाग्यो

अभियन्ता पशुपतिको प्रसव पीडा र खुसी : पहिलो गर्भ खेर गएपछि मानसिक रूपमा बलियो हुन एक वर्ष लाग्यो

अछाममा जन्मिएकी पशुपति कुँवर छाउपडी कुप्रथा र लैङ्गिक विभेद विरुद्धको अभियानमा सक्रिय छिन्। उनी अहिले ‘दिदीबहिनी जैविक प्याड उद्योग’ मार्फत यही अभियानमा सक्रिय छिन्।

उनले अछाममा स्थानीय महिलाहरूलाई रोजगारी समेत सिर्जना गरेकी छिन्। छाउपडीसँगै बालविवाह र घरेलु हिंसा विरुद्ध उनीहरूको अभियान चलाइरहेका छन्।

अछामको कृषि प्रशोधनमा समेत संलग्न उनले ‘अछामको कोसेली’ भनेर गाउँमा उत्पादित सामान विभिन्न ठाउँमा निर्यात गर्न सक्रिय छिन्।

गाउँको धेरै ठाउँबाट छाउ हटाउन संलग्न रहेकी उनी सामुदायिक विद्यालयमा सेनिटरी प्याड दिनु पर्ने अभियानमा समेत संलग्न छिन्।अभियानमा व्यस्त उनी एक सन्तानको आमा समेत हुन्।

अभियानकै क्रममा पहिलो गर्भ तुहिएको नमिठो अनुभव समेत छ उनीसँग। उनै पशुपतिले उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’ मा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन् :

 ००० 

मेरो पुरै बाल्यकाल अछाममै बित्यो। हामी हुर्किँदै गर्दा पनि समाजमा छोरीलाई पढाउने चलनै थिएन। त्यसैको प्रभावले हामी भन्दा अगाडि दिदीहरूले पढ्न पनि पाउनु भएन।

छोराछोरीमाथि हुने लैङ्गिक विभेदसँगै छोरीमाथि हुने महिनावारी विभेद, महिला हिंसा, घरेलु हिंसा लगायतका थुप्रै विभेदको भुमरीमा म हुर्किएँ। सधैँ विभेद सहेर बस्ने कि आवाज उठाउने भन्ने प्रश्न आए पछि आवाज उठाउनमा लागेँ।

मैले एसएलसी(अहिलेको एसइई) दिँदा सम्म गोठमै बसेर छाउ ( महिनावारी) बार्नु परेको थियो। गोठमा अँध्यारो, पानी चुहिएको, किरा फट्याङ्ग्राहरूले टोकेका निकै दर्दनाक घटनाहरू भोगियो। त्यहाँ सुरक्षासँगै भावनात्मक रूपमा समेत धेरै कमजोर हुने अनुभव गरेँ।

महिनावारी विभेदमा सुदूरपश्चिम र कर्णालीको छाउगोठको मात्र कुरा होइन, काठमाडौँ लगायतका शहरी क्षेत्रमा भान्छाबाट टाढा रहने, परिवारसँगै बसेर खान नमिल्ने लगायतका थुप्रै विभेद पनि जोडिएर आउँछन्।

एसएलसी पास गरेसँगै छाउगोठ विरुद्ध अभियान सुरु नगरी भएन भनेर यसैतिर लागेँ। यसका लागि आर्थिक रूपमा बलियो हुन पनि पर्यो। त्यसका लागि पढाइसँगै जागिर पनि सुरु गरेँ।

स्नातक पढ्न भने काठमाडौँ आएँ। अहिले लैङ्गिक अध्ययनमै एमफिल गरिरहेको छु। काठमाडौंको बसाइमा फरक व्यवहार देखिए पनि महिनावारीको समयमा हुने विभेदको अवस्था भने उस्तै लाग्यो। दुवैतिरको व्यवहारले महिलामा पर्ने मानसिक प्रभाव भने उस्तै देखेँ मैले।

बिहे गर्दा उमेर ३० वर्ष भइसकेको थियो। सबैले धेरै अगाडि देखि नै बिहेको लागि दबाब दिएका थिए। तर मैले आफूलाई उचित लागेको समयमा, आफूलाई उचित लागेको व्यक्तिसँग आफै मन पराएर बिहे गरेँ। आफूले मन पराएकोसँग बिहे गर्न घरमा अलिअलि त गाह्रो भएकै हो। तर विवाहपछि सबै राम्रो हुँदै गयो।

बिहे पछि पनि आफ्नो पढाइ र अभियान भने छाडिन। विवाहपछिको दैनिकी त्यति फरक भएन। तर सन्तानपछि भने निकै फरक हुने रहेछ। आमा बनेपछि मेरो भूमिकाहरू बढे। समय व्यवस्थापन गर्न अलि गाह्रै हुने रहेछ।

परिपक्व उमेर पुगेर पछि विवाह गरेकाले योजना अनुसारै सन्तानको तयारी गर्यौँ। गर्भ पनि रह्यो। म आफै अछाममा गर्भवती महिलाहरूलाई पोसिलो खाना खानु पर्ने, आराम गर्नु पर्ने भनेर परामर्श दिने, तर आफ्नै गर्भ रहेको तीन महिनामा धेरै दौडधुपको कारण पहिलो गर्भ खेर गयो।

गर्भ खेर गएपछि मानसिक रूपमा निकै फरक पर्ने रहेछ। गर्भ खेर गएपछि म केही समय निकै विक्षिप्त भएकी थिएँ। अब सन्तान नै हुँदैन कि भन्ने डर लाग्ने रहेछ। सकेसम्म तनावबाट आफूलाई टाढा नै राख्न प्रयास गरेँ। तै पनि लगभग एक वर्ष लाग्यो मलाई त्यसबाट बाहिर निस्कन।

अर्को गर्भ रह्यो। पहिलो गर्भ खेर गए पछि भने आफैँ सतर्क भइने रहेछ। आफैलाई पनि फेरि केही होला भनेर डर लाग्ने रहेछ। दोस्रो गर्भको समयमा त म पुरै आराम गरेर बसेँ।

म धनगढीबाट काठमाडौँ आएँ। कामहरू फोनमार्फत अगाडी बढाएँ। त्यही भएर हो कि मेरो गर्भावस्थाको नौ महिना साधारण तरिकाले अगाडि बढ्यो।

काठमाडौँको डेरामा मेरो भदा र भाइ थिए। पछि जेठानी दिदी पनि आउनु भयो। श्रीमान् पनि आउने जाने गरिनै राख्नुहुन्थ्यो। त्यसैले गर्भावस्थामा त्यति अप्ठ्यारो भएन।

तर शारीरिक रूपमा पहिलाको जस्तो धेरै सक्रिय हुन पाएको थिइन। एकदम धेरै भोक लाग्थ्यो। त्यही भएर मजाले खाना खाएँ। हातगोडा सुन्निने जस्तो अप्ठ्यारो चैँ भएन। तौल पनि राम्रै बढेको थियो। तर मानसिक रूपमा डर भने लाग्ने रहेछ।

बाबुलाई जन्म दिनु भन्दा केही महिना अगाडि गर्भमा उल्टो बसेको छ भन्ने थाहा पायौँ। जन्मिने बेलासम्म सुल्टो हुन सक्छ भनेर डाक्टरले भनेका थिए। तर उ उल्टो नै भइराख्यो। त्यही भएर जन्माउने बेलामा अप्रेसन गर्नु पर्यो। अप्रेसन गरेपछि त झन् गाह्रो हुने रहेछ।

एक त अप्रेसन गर्नु पर्छ भनेको सुन्दा नै डर बढेको थियो। अप्रेसन गर्दा त म बेहोस नै भएछु। त्यो बेला हस्पिटलमा एक हप्ताको बसाइ अनि त्यसपछिको टाँका दुखाइ सहन सक्ने भन्दा धेरै थियो। अप्रेसन गरेकै कारण खाना पनि बार्नुपर्यो।

त्यो बेलामा ढाड दुख्ने त्यत्तिकै, सुत्दा गाह्रो हुने त्यत्तिकै। सुत्केरी भएको एक महिना त मलाई निकै गाह्रो भयो। कोठाबाट बाहिर निस्कन पनि सकिनँ।

जाडो महिनामा पाएको बाबुलाई एक महिनापछि भारत लिएर गएँ। मेरो ममी बाबा उतै बस्नु हुन्थ्यो। त्यहाँ सुत्केरी स्याहार केही हदसम्म राम्रै भए पनि यता फर्किए पछि भने त्यस्तो हुन सकेन।

कारण चैँ जेठानी दिदी ११ दिनमा फर्किहाल्नु भयो। यहाँ धेरै केटा मान्छेहरू मात्र भए। काठमाडौँको कोठामा घाम ताप्न पनि सहज थिएन।

सुत्केरीको बेलामा भावनात्मक रूपमा निकै कमजोर भइने रहेछ। कसैले केही भन्यो कि रुन मन लागिहाल्थ्यो। बच्चा पनि रातभर नसुत्ने। एक समय त मैले निकै दुख पाएको अनुभव भयो। तर दुई वर्ष बाबुलाई मजाले समय दिएँ।

पहिला पनि प्लेनमा आउजाउ गरेकै हो। तर बाबु पाएपछि उसलाई छाडेर प्लेनमा जाँदा निकै डर लाग्यो। मलाई केही भयो भने भन्ने भावना आउने रहेछ। पहिला यस्तो अनुभव भएको थिएन।

बाबुको लागि सधैँ आफैँले लिटो बनाएँ। प्राय कार्यक्रमहरूमा उसलाई पनि सँगै लिएर जान्थेँ।

त्यो बेलामा धेरैले ‘अभियानमा हिँडेको मान्छे कसरी बच्चा स्याहार्ला ?’ भनेको पनि सुनेँ। तर मैले बाबुलाई निकै राम्रोसँग हुर्काएँ। व्यवस्थापन गर्दै जाँदा सकिने रहेछ। व्यस्तताका बिच पनि मैले मजाले समय दिन पाए भन्ने लाग्छ।

अहिले पनि उसलाई छोडेर कतै जाँदा निकै तयारी गरेर जान्छु। उसलाई एक हप्ता सम्म के खुवाउने, के गर्ने भनेर तयारी गर्छु। धेरै कुरा त युट्युब हेरेर पनि सिकेँ। बच्चालाई मालिस गर्न पनि त्यतैबाट सिकेको हुँ। गर्दै जाँदा सिक्दै जाने पनि रहेछ ।

म १५ दिन काठमाडौँ, १५ दिन अछाममा बस्ने गर्छु। बाबु काठमाडौंमा। यता बाबुसँग अहिले मेरो भदै छिन्। बाबु पाँच कक्षामा पढ्दै छ। उसको स्वभाव पनि म जस्तै छ। एकदम भावनात्मक अनि सहयोगी।

अहिले एमफिल पढिरहेको छु। यो सक्काएर पिएचडी गरेर नाम अगाडि डा. राख्ने ठुलो सपना छ। अब मेरो सपना र बाबुको सपनाको लागि सँगै काम गर्नु छ। पढ्नु छ।

भदौ ८, २०८२ आइतबार १७:५७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।