चीनसँगको सडक नाका बन्द भएसँगै बढ्यो भारतीय ईभी, चिनिया दोस्रो सुचीमा

चीनसँगको सडक नाका बन्द भएसँगै बढ्यो भारतीय ईभी, चिनिया दोस्रो सुचीमा

काठमाडौं : बाढी र पहिरोका कारण नेपाल र चीनको स्थलमार्ग अवरुद्ध भएपछि भारतबाट आयात हुने विद्युतीय गाडी (ईभी) को संख्या बढेको छ।

नेपालमा चीनबाट धेरै ईभी भित्रिने गरेको थियो। तर पहिरोका कारण उत्तर तर्फका रसुवागढी र कोदारी दुवैतर्फको सडक मार्ग अवरुद्ध भएपछि भारतबाट ईभी भित्रिने क्रम बढेको हो।

गत असार २४ मा नेपाल–चीन सीमास्थित लेहेन्दे खोलामा विनाशकारी बाढी आउँदा मितेरी पुलसमेत बगाएको छ। सडकमार्ग ध्वस्त भएपछि रसुवागढीबाट नेपालसँग हुने व्यापार ठप्प छ।

अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा पहिरो खसेर यातायात ठप्प भएपछि तातोपानी नाका १८ दिनपछि मात्र चल्न थालेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को साउन महिनामा भारतबाट नेपालमा ८५ वटा र चीनबाट ६० वटा गरेर १ सय ६० चारपांग्रे ईभी आयात भएका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१-८२ को साउनमा नेपालमा कुल ३ सय ८१ वटा ईभी आयात भएकोमा चीनबाट २ सय २वटा र भारतबाट १ सय ७८वटा मात्रै आयात भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसनका अनुसार बाढी पहिरोका कारण उत्तर तर्फका रसुवागढी र तातोपानी नाका ठप्प भएपछि भारतीय ईभी आयातमा वृद्धि भएको हो।

पछिल्लो समय नेपालमा विक्री हुने गाडीमा ७० प्रतिशत बढी इलेकट्रोनिक्स भेइकलहरु रहेका छन्। त्यसमा अधिक चिनिया कम्पनीहरू रहेका छन्। नेपालको ईभी बजारमा चिनिया कम्पनीको प्रभाव उच्च देखिन्छ।

भदौ ८, २०८२ आइतबार १५:३०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।